‘फोरमलाई सरकारमा भित्र्याउन निर्णायक वार्ता हुने’

  • 22 मार्च 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्रीले डेढ महिना हुँदा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकिरहेका छैनन्।

मधेसी जनअधिकार फोरम सरकारमा भित्र्याउने गरी बुधबार तीन दलका प्रमुखहरुबीच वार्ता हुन लागेको छ।

एकीकृत नेकपा माओवादी, नेकपा एमाले र फोरम नेपालका अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर गर्ने गरी वार्ता तोकिएको हो।

गठन भएको डेढ महिना बित्दा पनि समस्या र जिम्मेवारीहरुको खातमा सरकार रनभुल्लमा परेको अनुभव धेरैले गरेका छन्।

गति

तर त्यस्तो अनुभव गर्नेहरुलाई आश्वस्त पार्ने गरी सरकारले तेज गति लिने वातावरण बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनका अनुसार बुधवार हुने तीन दलका प्रमुखबीचको वार्ताले फोरम सरकारमा जाने बाटो औपचारिक रुपमा खोल्ने छ।

थापाले भने, "वार्ताले सरकार र फोरमबीच यसअघि तयार गरिएको लिखित सहमतिको खाकालाई टुंगो लगाउने छ।"

फोरम अध्यक्ष उपेन्द्र यादवले पनि त्यो सम्भावना स्वीकार गरे।

उनले भने, "सहमति भयो भने हामी सरकारमा जाने बाटो खुल्ने छ। त्यो सम्भावना बढी देखिएको छ।"

महत्वपूर्ण

प्रधानमन्त्रीका सल्लाहकार थापाका अनुसार शान्ति प्रकृया अघि बढाउन विशेष समितिको बैठकले बुधवार नै एउटा महत्वपूर्ण निर्णय गर्नेछ।

उनले भने, "अस्थाई शिविरमा जनशक्ति पठाउने निर्णय हुने छ भने पचास दिनभित्र माओवादी लडाकुको समायोजन र पुनस्थापना गर्ने कार्यतालिका तयार गर्ने सम्भावना पनि छ।"

करीब दुई साताअघि ठूला तीन दलका शीर्ष नेताहरुको बैठकले पाँच दिनभित्र समायोजनको कार्यतालिका बनाउन विशेष समितिलाई निर्देशन दिएको थियो।

तर त्यसयता प्रधानमन्त्रीको नेतृत्वमा रहेको विशेष समितिको बैठक नै बस्न सकेको छैन।

कार्यतालिका तयार भए पनि समायोजनको ढाँचामा सहमति जुटाउनु दलहरुको निम्ति चुनौतीपूर्ण हुने ठानिएको छ।