कोइराला अनुपस्थितिको वर्ष दिन

  • 22 मार्च 2011
कोइरालाको जयजयकार गरिँदै
Image caption कोइरालाको प्रशंसक जति छन्, त्यत्तिकै संख्यामा आलोचक पनि रहेको विश्वास गरिन्छ

धेरैले अभाव महशुस गरिरहेका भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जीवितै भएको भए के अहिले संकटमा परेको शान्ति प्रकृया र नयाँ संविधानको टुंगो लाग्थ्यो?

संविधानसभाको म्याद दुई महिना मात्र बाँकी बचेपनि शान्ति प्रकृया र नयाँ संविधान गम्भीर शंसयको घेराबन्दीमा परेका छन्।

ऐतिहासिक महत्वका ती दुई कामको एकजना नेतृत्वकर्ता कोइरालाको निधन भएको चैत ७ गते वर्ष दिन पुरा हुँदा संकटोन्मुख ठानिएको पछिल्लो राजनीतिलाई कतिपयले उनकै अनुपस्थितिसँग जोडेर हेरेका छन्।

अन्तिम अवसर

पटक पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला, पछिल्ला दुई दशक सत्तामा हुँदा होस वा सडकमा, आफूलाई राजनीतिको निर्णायक तहमा टिकाइ रहन सफल रहे।

तर उनले पनि औसत नेताहरुभन्दा भिन्न कुनै अदभूत वा चमत्कारिक राजनीतिक व्यक्तित्व देखाएनन।

त्यसैले विरलै नेताले पाउने राजनीतिक कालखण्डका कयौं दूर्लभ अवसरहरुमा उनी चुकेका पनि थिए।

जीवनको उतरार्द्धमा उनका निम्ति आफ्नो राजनीतिक चरित्र र स्वभाव विपरीतको अर्को ऐतिहासिक अवसरको श्रृँखला जुर्‍यो।

कतिपयका भनाईमा भारतको पहल र मध्यस्थतामा तत्कालीन सशस्त्र विद्रोही माओवादीसँगको १२ बुँदे सहमतिबाट उनले नयाँ राजनीतिक श्रृँखला थालनी गरे।

जसको जगमा उठेको जनआन्दोलनलाई सफलतामा टुंग्याउनुका साथै संविधानसभाको चुनाव गराए।

अन्तत: साढे दुई सय वर्ष लामो राजतन्त्रलाई रक्तपात विहिन ढंगले विदा गरी देशलाई गणतान्त्रिक मुलुक बनाउने अभियानको उनले नेतृत्व गरे।

अधुरो विश्वास

त्यो श्रृँखलाको महत्वपूर्ण अनि अन्तिम पाटो शान्ति प्रकृया र संविधान लेखन भने उनको जीनवकालमा अधुरै रह्‍यो।

दिशाहिन बन्न पुगेको शान्ति प्रकृया र संविधान लेखन अगाडी बढाउने उदेश्यले रोगले थलिदाँ पनि कोइरालाले जीवनको अन्तिम कालतिर उच्च राजनीतिक संयन्त्र बनाएर सक्रियता देखाएका थिए।

त्यसक्रममा कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच राजनीति अगाडी बढाउन 'गोप्य विश्वास' आदान प्रदान भएको ठानिएको थियो।

उनी माओवादीलाई सडक आन्दोलन फिर्ता लिन लगाएर शान्ति प्रकृया र संविधान लेखनप्रति आश्वस्त पार्न सफल भएका पनि थिए।

तर त्यसको केही सातामै कोइरालाको देहावसान भएपछि माओवादी देशव्यापी आन्दोलनमा उत्रियो र सरकार त्यो नियन्त्रण गर्ने अभियानमा।

माओवादीले आन्दोलन फिर्ता लिन बाध्य भएको केही महिनापछि प्रधानमन्त्री माधवकुमार नेपालले स्वच्छाले राजिनामा गरे।

त्यसपछि पनि दल र तीनका नेताहरुले कोइरालाको निधन भएको वर्षदिनको आधाभन्दा बढी समय प्रधानमन्त्री छान्नमै विताए।

शान्ति प्रकृया र संविधान लेखन वेवारिसे जस्तो बन्न पुगेकैले कतिपय नेताहरुले कोइरालाको अभाव महसुश गरेका हुनसक्छन्।

नेताहरुको खिचातानीले कैयौंलाई 'कोइराला भैदिएको भए शान्ति प्रकृया र संविधान लेखन अगाडी बढ्थ्यो कि!' सोंच्न बाध्य पार्‍यो।

अर्को पाटो

तर कोइरालाले आलोचक पनि थुप्रै कमाएका थिए।

संविधानसभा अघि नै अन्तरिम संविधानबाट राजतन्त्र हटाएको र पहिलो राष्ट्रपति बन्ने लालसामा विधि र प्रकृया नाघेर कयौं सम्झौताहरु गरेको आरोप उनले मरणोपरान्त पनि खेपिरहेका छन्।

त्यसैले वर्तमान अन्यौल र अनिश्चयलाई कतिपयले 'कोइरालाको स्वार्थ प्रेरित र स्वेच्छाचारी राजनीतिको परिणाम' ठान्छन्।

त्यस्ता अनेकौं अभियोगहरुकाबीच पनि उमेर, राजनीतिक पृष्ठभूमि र व्यक्तित्वका कारण उनी आफ्नो मात्र होइन अन्य दल र अन्तराष्ट्रिय सम्वन्धमा पनि अरु नेताहरुले भन्दा बढी नै प्रभाव राख्दथे।

उनले छाडेर गएको जिम्मेवारीको नेतृत्व गर्ने अवसर तत्कालित विद्रोही दलको नेताको हैसियतमा प्रचण्ड सामू आएको ठानिएको थियो।

तर पार्टीभित्र र बाहिरकालाई सन्तुलन मिलाइ विश्वास आर्जन गर्न नसक्दा उनी पनि त्यो अवसरबाट चुक्दै गएको धेरैले महशुस गरिरहेका छन्।

त्यस्तो स्थितिले पनि स्वर्गिय कोइरालाप्रति थप विश्वास र आशा जगाउने काम गरेको ठानिएको छ।

राजनीतिमा कोइराला अहिले पनि सक्रिय भैदिएको भए परिस्थिति सप्रिन्थ्यो वा थप विग्रिन्थ्यो भन्ने कुरा केवल अनुमानको विषय हो।

तर देशको सर्वाधिक महत्वपूर्ण परिवर्तनहरुको नेतृत्व गरेका एकहद सम्म अनुभवले परिपक्व नेतालाई उनको पहिलो वार्षिकीमा धेरैले उनलाई सम्झना गर्नु स्वाभाविक पनि हो।