लडाकू व्यवस्थापन खाकाको जिम्मा कार्यदललाई

  • 23 मार्च 2011
maoists combatants
Image caption लडाकु समायोजनका लागि कार्यदल बनाए पनि समाधान शीर्ष निर्णय बाट मात्र संभव देखिन्छ

लडाकु व्यवस्थापनको जिम्मा पाएको विशेष समितिले माओवादी लडाकुलाई वास्तविक रुपमा आफु अन्तर्गत ल्याउने कामका लागि आवश्यक भन्दै चार सय भन्दा बढि कर्मचारी भर्ना गर्ने निर्णय बुधबार गरेको छ।

समितिले बुधबारै लडाकु व्यवस्थापनको मोडालीटी तय गर्न कार्यदल समेत गठन गरेको छ।

शंका

तर सबै काम फटाफट अघि बढ्नेमा भने शंका व्यक्त गरिएको छ।

शान्ति प्रक्रियामा सघाइरहेको राष्ट्र संघीय नियोग अनमिन तीन महिना पहिले नेपालबाट बाहिरिएपछि माओवादी लडाकुका मुख्य सात शिविरहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा माओवादी लडाकु सम्मिलित ८/८ सदस्यीय टोली कार्यरत रहँदै आएको छ।

बाँकी २७ सहायक शिविरमा पनि त्यस्तै व्यवस्था गर्न चार सय भन्दा बढि कर्मचारी थप्न बुधबारको निर्णय गरिएको हो।

मतभेद

ति कर्मचारी नियुक्तिबारे भने माओवादी र खासगरी कांग्रेसबीच कुरा मिलिसकेको छैन।

विशेष समिति सदस्य डा रामशरण महत भन्छन्, “बहालवाला सुरक्षा निकायका प्रतिनिधि संलग्न गराएर तत्काल फिल्डमा तैनाथ गराऔं भन्ने हाम्रो प्रस्ताव हो तर माओवादी चाहिँ पूर्व सुरक्षाकर्मीहरुलाई तैनाथ गर्ने गरी नयाँ नियुक्तिको पक्षमा छ।”

त्यसैगरी विशेष समितिको बैठकले सुरक्षा निकायमा समायोजन हुन सक्ने लडाकुको संभावित संख्या, समाजमा पुनस्थापित हुन चाहनेहरुका लागि राहत प्याकेज लगायत लडाकु समायोजन कसरी गर्ने कहिले गर्ने सहितका विषयहरु निश्चित गर्न कार्यदल समेत गठन गरेको हो।

टुंगो

तर कार्यदल बनाउँदैमा समस्या समाधानतर्फ लागिहालेको भने छैन।

किनभने राजनीतिक तहमा शीर्ष नेताहरु बसेपछि मात्रै मतभेदको टुंगो लाग्न सक्ने डा महत बताउँछन्।

कार्यदलका चुनौतिबारे माओवादीका तर्फबाट कार्यदल सदस्य जनार्दन शर्मा प्रभाकर र शान्ति तथा पुनर्निमाण मन्त्री वर्षमान पुन अनन्तसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन।

संविधान जारी गर्न तय गरिएको दिन आउन दुइ महिना जति मात्र बाँकी छ।

यस अघि पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कार्यदल र कार्ययोजना बनाउने काम पटक पटक भएका छन्।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, भाषणमा जहिले पनि गंभीर भन्ने शब्द प्रयोग गर्ने तर व्यवहारमा पटक्कै गंभीर नबन्ने प्रवृत्ति कायम रहेसम्म शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्दैन।