सम्बन्ध सुधार्न माओवादी-कांग्रेस शीर्ष बैठक

  • 25 मार्च 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रधानमन्त्री चुनावपछि पहिलो पटक प्रचण्डले कांग्रेससँग शीर्ष बैठक डाकेका थिए

सत्ताधारी एकीकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच लामो अन्तरालपछि शीर्ष तहमा वार्ता भएको छ।

प्रधामन्त्री चुनाव भए यता पहिलो पटक भएको उक्त बैठक माओवादीले आयोजना गरेको थियो।

सम्बन्ध सुधारको निम्ति गरिएको उक्त बैठकमा दुवै पक्षले आआफ्ना अडान भने छाडेनन्।

खुला

दुवै दलका प्रमुखहरु आआफ्नो दलका उच्च नेताहरुका साथ बैठकमा उपस्थिति थिए।

दुबै पक्षले आआफ्नो गुनासो र एक अर्काप्रतिको आशंका बैठकमा खुला रुपमा राखेका थिए।

तर त्यसबाट मन माझामाझ हुन नसकेको नेपाली कांग्रेसका नेता डा. राम शरण महतको अनुभव रह्यो।

उनले भने, "हामीले खुला रुपमा एक अर्काको गुनासो र कुरा राख्यौं तर नयाँ कुरा केही भएन्।"

अडान

दुई दल नजिक आए शान्ति प्रकृया र संविधान लेखन टुंगोमा पुर्‍याउन सहयोग पुग्ने ठानिएको छ।

तर डा. महतले भने, "संविधान सुनिश्चित नहुँदासम्म माओवादी तत्काल आफ्ना लडाकु समायोजन गर्न तयार देखिएन।"

बैठकमा सरिक माओवादी नेता तथा शान्ति मन्त्री बर्षमान पुनले पनि उक्त कुरा स्वीकार गरे।

उनले भने, "कांग्रेस पनि शान्ति प्रकृया नटुंगिदासम्म संविधान बन्दैन भनि रहेकाले हामीले बीचको बाटो खोज्नु पर्छ।"

दुबै दलले एक अर्काको अडानलाई आशंकाको नजरले हेर्ने गरेकाले नै गतिरोध उत्पन्न भइरहेको कतिपयको ठम्याइ छ।