आपसी आक्रमणमा तीन माओवादी मजदूरहरु घाइते

  • 28 मार्च 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption तीन शीर्ष नेता निकट मजदूर संगठन खुलेपछि प्रचण्डलाई विवाद मिलाउन समस्या परेको छ

एकीकृत नेकपा माओवादी निकट मजदूरहरु एक अर्कामाथि सांघातिक हमलामै उत्रिन थालेपछि पार्टी नेतृत्वसामू पुगेको उक्त विवाद थप जटिल बन्न पुगेको छ।

भक्तपुरमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य किरण निकटका मजदूरहरुबीच सोमवार भएको सांघातिक हमलामा कम्तीमा तीन जना घाइते भएका थिए।

उक्त विवादलाई लिएर हमलाको आरोप अर्को पक्षमाथि लगाउँदै दुबै पक्षले आ-आफ्नो समूहको बचाउ गरेका छन्।

गम्भीर

उक्त घट्नापछि प्रतिकृया दिंदै प्रचण्ड निकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, "गम्भीर रुपमा बढ्दै गएको पार्टीभित्रको अनुशासनहीनता र अराजकता चाँडै टुंग्याउनु पर्ने भएको छ।"

काठमाण्डू औद्योगिक क्षेत्रमा पनि दुई पक्षबीच कुटाकुट भएको थियो।

प्रचण्ड र किरणबीच सोमवार भएको भेटमा मजदूर संगठनभित्रको विवादबारे कुराकानी भएको बताइएको छ।

उक्त बैठकमा रहेका किरण निकट सचिव सीपी गजुरेलले विवाद जटिल बन्दै गएको बताउंदै भने, "यो विषयमा गम्भीर छलफल गरी समाधान निकाल्नै पर्छ।"

यसअघि बाबुराम भट्टराई निकट मजदूरमाथि प्रचण्ड पक्षबाट हमला भएको खवर पनि प्रकाशमा आएका थियो।

भट्टराई निकट नेता देवेन्द्र पौडेल सुनिलले भने, "समस्या बल्झिदै गएकाले स्थाई समितिको बैठकले समाधान गर्ने भनिएको छ।"

घोचपेच

मजदूरहरुबीचको विवादसँगै माओवादी नेतृत्व तहमा एउटा फरक विषयलाई लिएर घोचपेच चलिरहेको छ।

सुनिल लगायतका युवा नेताहरुसँगको भेटमा प्रचण्डले भट्टराईले पार्टी फुटाउन लागेको प्रसंग निकालेपछि त्यो विषयलाई लिएर नेतृत्व तहमा घोचपेच र घुमाउरो ढंगले आरोप-प्रत्यारोप बढेको हो।

प्रचण्डले आफूहरु समक्ष राखेको आशंकायुक्त जिज्ञासाबारे जानकारी दिंदै सुनिलले भने, "बाबुरामजी पार्टी फोडनेतिर लाग्नु भएको छ रे भन्ने कुरा राख्नु भयो। हामीले त्यो निराधार भएको बतायौं। उहाँलाई कतै न कतैबाट सूचना पुर्‍याए जस्तो बुझिन्थ्यो।"

कतिपय भट्टराई निकटहरुले उनीमाथि कारवाही गर्ने पृष्ठभूमि बनाउन संस्थापन पक्षले त्यस्तो प्रचार गरेको विश्लेषण गरिरहेका छन्।

तर सचिव गजुरेलले भने, "बाबुरामजीमाथि अहिले कारवाही हुँदैन। त्यो कुरा उठेको पनि छैन।"

अध्यक्ष प्रचण्डले पनि सोमवार एउटा कार्यक्रममा 'पार्टीभित्र घोचपेच चलिरहे पनि पार्टी नफुट्ने' बताएका थिए।