सचिव खनालको राजीनामा स्वेच्छिक: प्रधानमन्त्री

  • 4 एप्रिल 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रतिपक्षी नेपाली कांग्रेसको दबाबपछि प्रधानमन्त्रीले सोमबार सदनलाई सम्बोधन गरे

प्रधानमन्त्री झलनाथ खनालले सोमबार सदनलाई सम्बोधन गर्दै अर्थसचिव रामेश्वर खनालले गत साता दिएको राजीनामा स्वेच्छिक भएको बताए।

खासगरी पूरक बजेट र राजस्व छलीका विषयमा अर्थमन्त्री र सचिवबीच कुरा नमिलेपछि सचिव खनालले दबाबमा राजीनामा दिनुपरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनबाटै जवाफ मागेपछि सोमबार प्रधानमन्त्रीले उक्त स्पष्टिकरण दिएका थिए।

ढोका खुला

सदनमा बोल्दै प्रधानमन्त्री खनालले सचिवको राजीनामाबाट आफु दुखी र आश्चर्यचकित परेको बताए।

सचिव खनाल फर्किन चाहेमा ढोका खुला राखेको बताउँदै उनले यो विषयलाई नउछाल्न सबैलाई आग्रह गरे।

“स्वेच्छाले राजीनामा दिएको विषयलाई लिएर अनुमानको भरमा आरोप प्रत्यारोप गर्नु राम्रो होइन,” उनले भने।

कारबाही जारी

सचिवको राजीनामालाई धेरैले मूल्य अभिवृद्धि कर भ्याटको नक्कली बीलमार्फत राजस्व ठगी गर्नेहरु विरुद्ध उनको नेतृत्वमा थालिएको कारबाहीसंग जोडेर हेरेका थिए।

कतिपयले त उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले ठूला व्यापारीक घरानाको सांठगांठमा त्यस्तो कारबाही शिथिल पार्न लागेको आरोप लगाएका थिए।

तर प्रधानमन्त्रीले ती सबै आरोपहरुको खण्डन गरे।

उनले मूल्य अभिवृद्धि कर भ्याटको नक्कली बील प्रयोग गरी राजस्व छल्नेहरुलाई कारबाही गरीछाड्ने बताए।

“मूल्य अभिवृद्धि करको छली, यूनिटि प्रकरण र क्यासिनोको रोयल्टी लगायत अन्य कुनैपनि कर छलीको विषयमा संलग्न जोसुकै माथिपनि प्रचलित कानुन बमोजिम कारबाही गरिने कुरा मैले पहिलेदेखि भनेको छु। त्यस्ता कुरामा छुट दिने नीति सरकारले न लिएको छ, न लिने नै छ,” प्रधानमन्त्रीले भने।

तर मन्त्री र सचिवबीच केही खटपट चाहीं परेको संकेत उनको भनाईमा थियो।

“स्थायी सरकार भनिने कर्मचारीतन्त्र र बहुदलीय शासन प्रणालीबाट निर्वाचित भएर आउने मन्त्रीहरुबीच कहिलेकाहीं कतिपय विषयमा मतभेद हुन सक्छन्। त्यसलाई एकदमै अस्वाभाविक मानिंदैन।”

खण्डन

पूरक बजेट ल्याउने वा नल्याउनेबारे प्रधानमन्त्रीले केही बोलेनन्।

सचिव खनालको राजीनामासंगै जोडिएको मन्त्रालयको संरचनालाई बाहेक गरेर पूरक बजेटको निर्माण प्रक्रिया थालिएको भन्ने आरोपहरुको चाहीं उनले खण्डन गरे।

गत साता सचिव खनालले दुई साता लामो विदा र चैत मसान्तदेखि लागु हुने गरी राजीनामा दिई अकस्मात कार्यालय छाडेर हिंडेदेखि, सरकार, प्रतिपक्षी देखि लिएर चारैतिरबाट दबाबमा परेको थियो।

उक्त विषयमा जवाफ दिन आफ्नो माग बमोजिम प्रधानमन्त्री शुक्रबार सदनमा उपस्थित नभएपछि प्रतिपक्षी नेपाली कांग्रेसले संसदको कारबाही अगाडि बढ्न दिएको थिएन।