नेपाली सेनाको प्रस्ताव सकारात्मक: प्रचण्ड

  • 7 एप्रिल 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्डले आफ्नो पार्टी फोड्न अन्तराष्ट्रिय शक्ति लागेको आरोप लगाए पनि परिचय खुलाएनन

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेपाल बनाउन आफ्ना लडाकू र नेपाली सेना मिलेर अगाडि बढ्ने संकेत मिलेको बताएका छन्।

माओवादी लडाकू समायोजनबारे नेपाली सेनाले पेश गरेको प्रस्तावबाट त्यस्तो संकेत मिलेको उनको भनइ थियो।

सेनाले हालै आफ्नो मातहतमा रहने गरी सशस्त्र, नेपाल प्रहरी र माओवादी लडाकू सहितको अलग सुरक्षा संरचना बनाउने प्रस्ताव प्रधानमन्त्रसमक्ष पेश गरेको बताइएको छ। जुन अझै गोप्य राखिएको छ।

काठमाण्डूको बसन्तपुरमा आयोजित सभामा बोल्दै प्रचण्डले भने, "सेनाको पछिल्लो सोंचले माओवादी र सेना आपसमा मिलेर नेपाललाई नयाँ बनाउन चाहन्छन् भन्ने असाध्यै सकारात्मक संकेत देखिएको छ।"

सम्बन्ध

प्रचण्ड खुला राजनीतिमा आएदेखि सेनासँग उनको सम्बन्ध धेरै हदसम्म कटुतापूर्ण नै देखिने गरेको छ।

वालुवाटारमा सार्वजनिक हुँदा सेनामाथि गम्भीर आरोप लगाएका उनले त्यो अभिव्यक्ति सच्याएका थिए।

खुलामञ्चबाट तत्कालीन सेनापति विरुद्ध सार्वजनिक रुपमै खनिएका उनले ती सेनापतिलाई हटाउने प्रयास समेत गरेका थिए।

वर्तमान सेनापति विरुद्ध पनि बेलावखत खनिएका प्रचण्डको पछिल्लो धारणा सेनाप्रतिको नयाँ र परिवर्तित मुल्याङ्कन ठानिएको छ।

औंला

प्रचण्डले परिचय नखुलाएरै अन्तराष्ट्रिय शक्ति आफ्नो पार्टी फुटाउने प्रयासमा लागेको आरोप पनि लगाएका थिए।

तर कुनै हालतमा त्यो प्रयास पुरा हुन नदिने आफ्नो दृढता उनले व्यक्त गरेका थिए।

प्रचण्डले संविधान लेखन र शान्ति प्रकृया भाँड्ने षडयन्त्र भइरहेको बताउँदै सांकेतिक रुपमा भारतर्फ औंला सोझ्याएको बुझिन्थ्यो।

तर दक्षिण भन्ने शब्दलाई दोहोरो अर्थ लगाउन मिल्ने गरी प्रयोग गर्दै उनले त्यहींबाट षड्यन्त्रको गन्ध आएको बताउँदै भने, "तराईमा निर्दोष जनता चढेका बसमा विष्फोट गराइएको छ। दक्षिणतिरबाट भयानक षड्यन्त्रको गन्ध आएको छ। मलाई लाग्छ कस्ले गराइरहेको छ भन्ने हामी सबैले बुझेका छौं।"

माओवादी अध्यक्ष प्रचण्डले त्यस्तो षडयन्त्र नरोकिए उनकै शब्दमा जनआन्दोलनको आँधीवेहरी सृष्टी गरी त्यस्ता तत्वको विनास गर्ने चेतावनी समेत दिएका थिए।