सरकारप्रति माओवादीको गम्भीर असन्तुष्टी

  • 8 एप्रिल 2011
प्रचण्ड, झलनाथ खनाल, उपेन्द्र यादव तस्वीर कपीराइट .
Image caption सत्तापक्षभित्रको खटपटले सरकार ढाल्न खोज्नेलाई हौसला दिनेछ

आफ्नै भरोसामा टिकेको सरकारप्रति एकिकृत नेकपा माओवादीले गम्भीर असन्तुष्टी प्रकट गरेको छ।

सरकार गठन गर्दा नेकपा एमालेसँग भएको सहमति पालना नभएको भन्दै माओवादीले त्यसबारे प्रधानमन्त्रीसँग शनिवार गम्भीर वार्ता गर्ने बताएको छ।

मन्त्रिमण्डलमा सामेल हुने तयारीमा रहेको मधेसी जनअधिकार फोरमले पनि सत्तापक्षसँगको असन्तुष्टी सार्वजनिक गरेको छ।

अचानक

माओवादी पदाधिकारीको बैठक स्थाई समितिले सुम्पेको जिम्मेवारी अर्थात आफ्ना थप मन्त्री छान्न भनि बसेको थियो।

तर त्यसो नगरी उक्त बैठकले सरकारको भविष्यप्रति नै संदेह जाग्ने खालको आफ्नो असन्तुष्टीपूर्ण सार्वजनिक गरेको छ।

सरकार संचालनको निम्ति उच्च संयन्त्र गठन, न्युनतम साझा कार्यक्रम र पुरक बजेट ल्याउने विगतको सहमति लागू नगरिएको भन्दै माओवादी आक्रोशित बनेको हो।

सचिव सीपी गजुरेलले असन्तुष्टीको थप कारण खोल्दै चेतावनीपूर्ण शैलीमा भने, "गृह मन्त्रालय हामीलाई दिने सहमति भएको थियो तर अझै पर्खिनु पर्छ भन्ने सुनिएको छ। सहमति नै लागु नहुने भए सहज रुपले चिज अगाडी बढ्दैन, मन्त्री मात्रै पठाएर के गर्ने?"

अचानक प्रकट भएको जस्तो देखिने सरकारसँगको असमझदारीबारे माओवादीले प्रधानमन्त्रीसँग गम्भीर वार्ता गर्ने खाँचो समेत महसुस गरेको छ।

नेता गजुरेलको भनाइ थियो, "शनिवार दुई पार्टीबीच गम्भीर रुपमा हुने शीर्ष बैठक कसरी जान्छ त्यसमै सरकार विस्तार निर्भर हुनेछ।"

निर्णायक

असन्तुष्टीको कारण बनेका प्रधानमन्त्री झलनाथ खनालसँग माओवादी अध्यक्ष प्रचण्ड शुक्रवार एउटा बैठकमा संगै थिए।

त्यहाँ दुबै मिलेर उनीहरुले सरकारमा भित्र्याउन मधेशी जनअधिकार फोरम नेपाललाई फकाउने प्रयास गरेका थिए।

तर फोरम अध्यक्ष उपेन्द्र यादवले भने, "आफूहरुले त्यागेको मन्त्रालय लिनुस र पछिपछि आउनुस भन्ने खालको उहाँहरुको भाषा थियो। अपमानित हुने गरी हामी सकारमा जाँदैनौं।"

उनले अब धेरै नकुरेर शक्ति बाँडफाँडको छिनोफानो तुरुन्तै लगाउन प्रस्ताव राखेको पनि बताए।

सत्तापक्षभित्र उत्पन्न ताजा खटपटले सरकारको आयु छोट्याउन खोज्ने सत्ता गठबन्धन भित्र र बाहिरका दुवैलाई थप हौसला दिने ठानिएको छ।