'सरकारमा एमालेका मन्त्री थपिने'

  • 10 एप्रिल 2011
प्रचण्ड र प्रधानमन्त्री तस्वीर कपीराइट .
Image caption माओवादी र एमालेबीच खटपटले मन्त्रिपरिषद विस्तार हुन नसेकको बताइन्छ

लामो कसरतपछि सरकारमा नेकपा एमालेको तर्फबाट मन्त्री थपिने निश्चित भएको प्रधानमन्त्री झलनाथ खनालका एकजना सल्लाहकारले बताएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार त्यसपछि माओवादी सहितका अन्य दलबाट पनि मन्त्री थपिने छन्।

मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारकै आयुवारे अविश्वास प्रकट हुन थालेपछि प्रधानमन्त्रीले आइतवार आफ्नो पार्टीबाट मात्रै भए पनि थप मन्त्री नियुक्त गर्ने भनिएको थियो।

"मन्त्री थप्ने कुरामा धेरै प्रगति भएको पनि थियो। तर राजनीतिक परामर्शका कारण आइतवार हुन नसकेको एमालेका थप मन्त्रीको सपथ सोमवार हुन्छ", सल्लाहकार थापाले बताए।

'गृहमा गुरुङ'

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलका अनुसार एमालेको तर्फबाट सोमवार मन्त्रीको टुंगो लागेमा माओवादीले मंगलवार आफ्ना थप मन्त्री छान्ने छ।

उनले भने, "गृह सहित सबै मन्त्री छान्ने सल्लाह भएको छ। गृहमन्त्री देव गुरुङजी हुनेमा हाम्रो पार्टीभित्र सहमति छ।"

नेता गजुरेलले प्रधानमन्त्री माओवादीलाई तत्काल गृह मन्त्रालय दिन राजी भइसकेकाले आफूहरुले मन्त्री छान्न तयार भएको दावी गरेका छन्।

तर प्रधानमन्त्रीको तर्फबाट त्यसबारे केही जनाइएको छैन।