पुनरावेदनका दुईजना न्यायाधीश बर्खास्त

  • 11 एप्रिल 2011
प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ तस्वीर कपीराइट .
Image caption न्याय परिषदको सिफारिस अनुसार प्रधानन्यायाधीशले कारवाही गरेका हुन

प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले पुनरावेदन अदालतका दुईजना न्यायाधीशलाई पदबाट हटाएका छन्।

पदमुक्त गरिएका पुनरावेदनका न्यायाधीशहरुमा पोखराका ओमप्रसाद सुवेदी र हेटौडाका तेजबहादुर कार्की छन्।

न्याय परिषदले सिफारिस गरे लगत्तै प्रधानन्यायाधीशले उनीहरुलाई बर्खास्त गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले बताए।

अभियोग

न्यायपरिषदले कारवाही गर्दा लगाएको अभियोगबारे परिषद्का सचिव जीवनहरी अधिकारीले भने, "कार्यक्षमताको अभाव, इमान्दारीपूर्वक काम नगरेको र खराव आचरण देखिएको भन्दै पदमुक्त गर्न प्रधानन्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको छ।"

एक सदस्यीय दुई अगल-अलग जाँचबुझ समितिको प्रतिवेदनपछि सुवेदी र कार्कीलाई न्यायपरिषदमा हाजिर गराइएको थियो।

संविधानसभाका सदस्यहरुको माननीय भन्ने सम्वोधन फिर्ता लिनु पर्ने धारणा व्यक्त गरेपछि विवादमा तानिएका न्यायाधीश सुवेदीमाथि नैतिकता र क्षमतासँग जोडिएको आरोप लागेको थियो।

एउटा मुद्दामा त्रुटिपूर्ण फैसला गरेको आरोप लागेपछि न्यायाधीश कार्की जाँचबुझको दायरामा तानिएका थिए।

'अन्यायपूर्ण'

तर उनले जाँचबुझ समितिले इमान्दारी नजाँचेको र त्यसको प्रतिवेदनमा बर्खास्त नै गर्ने खालको सिफारिस नभएको दावी गरे।

निर्णय अन्यायपूर्ण भएको बताउँदै उनले भने, "त्यो निर्णय लोकप्रियतावादी र संविधान तथा कानून विपरित छ। म कार्यक्षमता अभाव भएको न्यायाधीश होइन।"

न्याय परिषदले कार्यविधिगत त्रुटि देखिएको भन्दै चारजना जिल्ला न्यायाधीशलाई सचेत गराएको छ।

न्यायपरिषदको अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश श्रेष्ठ केही दिन यता भ्रष्टाचार र अनियमितताका मुद्दालाई प्राथमिकता दिएपछि चर्चित बनेका थिए।

उनको कदमलाई लोकप्रिय बन्ने लहडी काइदा भनी टिप्पणी गर्नेहरु पनि छन्।