गृह दिन प्रधानमन्त्रीलाई माओवादीको एकदिने म्याद

  • 12 एप्रिल 2011
माओवादी नेताहरू
Image caption माओवादी नेताहरूले प्रधानमन्त्रीसँग बुधवार निर्णायक वार्ता गर्ने बताएका छन्

एकिकृत नेकपा माओवादीले बुधवारसम्म गृह मन्त्रालय दिन प्रधानमन्त्री झलनाथ खनाल तयार नभए सरकारबाट फिर्ता हुने चेतावनी दिएको छ।

त्यसको निम्ति प्रधानमन्त्रीसँग बुधवार नै निर्णायक वार्ता गर्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन्।

प्रचण्ड निकटका ती माओवादी नेताले आफूहरूले गृह मन्त्रालयबारे निर्णय दिन प्रधानमन्त्री खनाललाई धेरै पटक आग्रह गरेका बताए।

अब गृह आफूहरुलाई दिई सात बुँदे सहमति लागू गर्न प्रधानमन्त्रीलाई अन्तिम मौका दिने कठोर निर्णयमा माओवादी पुगेको उनको भनाइ थियो।

उनले भने, “हामी अब थप पर्खने पक्षमा छैनौं, अन्तिम पटकको लागि हामीले भोलिसम्ममा उहाँसंग फाइनल गर्छौं र पर्सी हामी के गर्ने भन्नेबारे निर्णय गर्छौं।

“त्यती खेर हामीले बैकल्पिक निर्णय लिनुपर्ने पनि हुन सक्छ।“

विकल्प

त्यस्तो विकल्पबारे उनले भने, “मन्त्रीपरिषदमा भएका साथीहरूलाई फिर्ता बोलाउने र त्यस पछाडि पनि सरकारलाई समर्थन कायम हुन सक्ने त हुन्छ तर औपचारिक रूपमा केन्द्रिय कार्यालय र स्थायी समितिको बैठक बसेर निर्णय गरेनु पर्छ।“

तर सात बुँदे सहमतिबाट प्रधानमन्त्री पछि नहट्नेमा आफू आशावादी नै रहेको नेता प्रकाशको भनाइ थियो।

माओवादी नेता देव गुरुङ्लाई गृहमन्त्री बनाउने सहमति पार्टीमा भएको दावी गर्ने सचिव सीपी गजुरेलले त प्रधानमन्त्री आफ्नो दललाई गृह दिन तयार भइसकेको दोहर्‍याए।

“गृह मन्त्रालय दिन उहाँ तयारै हुनुहुन्छ, दुई-चार दिन पनि लाग्दैन। भोलि बिहान उहाँहरू बस्नु हुन्छ र यो कुरो टुङ्गो लाग्छ।“

गृहमन्त्रीमा देवप्रसाद गुरुङलाई पठाउने करिब सहमति भइसकेको भन्ने गजुरेलको भनाइले माओवादीभित्र एकखालको तरंग पैदा गरेको थियो।

अध्यक्ष प्रचण्डले नेता वर्षमान पुन अनन्तलाई शान्ति मन्त्रीबाट गृहमा सार्न चाहेको तर उपाध्यक्ष मोहन वैद्य किरण पक्ष भने गृहको जिम्मेवारी गुरुङलाई दिन कटिबद्ध रहेको बताइन्छ।