गृह मन्त्रालयको विवाद बल्झियो

  • 13 एप्रिल 2011
माओवादी उपाध्यक्ष प्रकाश
Image caption गृह तत्काल माओवादीलाई दिन प्रधानमन्त्री राजी भएको उपाध्यक्ष प्रकाशले बताएका छन्

आफ्ना अध्यक्ष प्रचण्डसंग बुधबार भएको भेटमा प्रधानमन्त्री झलनाथ खनालले बिहिबारसम्म आफुहरुलाई गृह मन्त्रालय दिने बताएको माओवादीका एकजना उपाध्यक्षले जनाएका छन्।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले उक्त कुराको खण्डन गर्दै तत्काल गृह मन्त्रालय दिने सहमति नभएको बताए।

बल्झियो

सरकार गठन भएदेखिनै शुरु भएको गृह मन्त्रालयको किचलो सुल्झिनु साटो बल्झिएको छ।

बिहिबारसम्म गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिए मन्त्रिपरिषदबाट आफ्ना मन्त्रीहरु फिर्ता हुन सक्ने चेतावनी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मंगलबार बीबीसीसंगको कुराकानीमा दिएका थिए।

तर बुधबार बिहान भएको प्रधानमन्त्री र प्रचण्डबीचको भेटपछि कुरा सकारात्मक मोडतर्फ लागेको उनले बताए।

“गृह मन्त्रालय एकीकृत नेकपा माओवादीलाई दिने सहमति पहिलेनै भइसकेको हो। त्यो सहमतिको कार्यान्वयनमा ढिला भइरहेको थियो। मैले सकारात्मक भयो भन्नुको अर्थ त्यो अब कार्यान्वयन हुने भयो भन्ने नै हो,” उनले भने।

नेता प्रकाशले उक्त सहमतिको कार्यान्वयन बिहिबारसम्ममा भइसक्ने आशा पनि व्यक्त गरे।

खण्डन

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उनको कुराको खण्डन गरेका छन्।

थापाले बिहिबार सम्ममै गृह मन्त्रालय दिने वा नदिने कुनै सहमति नभएको बताए।

“प्रधानमन्त्रीले केही समय गृह मन्त्रालय छाडेर अन्य मन्त्रालयहरुको लागि आफ्ना तर्फबाट मन्त्रीहरुको नाम दिन आग्रह गर्नुभएको थियो। माओवादी नेताहरुले तत्कालै गृह मन्त्रालय दिनुपर्छ भन्नुभयो। त्यसपछि प्रधानमन्त्रीले सहमतिमा कुरा टुंग्याउने भन्नु भयो। दिने वा नदिने भन्ने ढंगले कुरा भएन,” उनको भनाई थियो।

गृह मन्त्रालय नपाए बिहिबार बस्ने माओवादीको स्थायी समितिको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता लानेसम्मको कठोर निर्णय लिन सक्ने नेता प्रकाशले बताए।

तर त्यसलाई सरकारले गम्भीर रुपमा लिएको छैन।

“एउटा मन्त्रालय आज दिए सरकारमा बस्ने नत्र नबस्ने भन्ने कुरा माओवादी जस्तो जिम्मेवार दलले भन्छ भन्ने मलाई लाग्दैन। त्यसभित्रका कुनै नेताहरुले आफ्नो स्वभावजन्य हिसाबले टिकाटिप्पणी गरेका होलान् भन्ने म ठान्छु,” थापाले भने।

सत्तारुढ दुई दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच गृह मन्त्रालयबारेको विवाद उत्कर्षमा पुगेकै बेला बुधबार एमालेका तर्फबाट थपिएका केही मन्त्री र राज्य मन्त्रीहरुले शपथ लिएका छन्।