पाकिस्तानी दूतावासका कर्मचारीमाथि गोली प्रहार

  • 14 एप्रिल 2011
नेपाल प्रहरीका जवानहरु
Image caption बुधबारमात्रै सरकारले राजधानीमा सुरक्षा कडा पारिएको जनाएको थियो

मन्त्रिपरिषद बैठकले सुरक्षा व्यवस्था सुदृढ बनाउने घोषणा गरेको भोली पल्टै काठमाण्डूस्थित पाकिस्तानी दूतावासका एक कर्मचारीमाथि गोली प्रहार भएको छ।

दूतावासको भिषा शाखाका कार्यरत मेहवुव असीमको उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

नवनियुक्त मन्त्रीलाई खुकुरी प्रहार गरी घाइते बनाउनुका साथै र एकजना व्यापारीको गोली हानी हत्या गरिए लगत्तै भएको पछिल्लो घट्नाले काठमाण्डूको सुरक्षास्थितिलाई थप चुनौती दिएको छ।

आक्रमणकारी कोही पनि पक्राउन परेका छैनन्।

पाकिस्तानी दूतावासका ती कर्मचारी बिहीबार विहान कार्यालय तर्फ गइरहेको बेला दुई जना युवाले गोली हानेका थिए। पेट र हातमा गोली लागेका उनको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणकारीहरुको खोजी भइरहेको तर पक्रिन नसकेको काठमाण्डू प्रहरीका एकजना डीएसपी केदार ढकालले बताए।

आक्रमण

तीन दिन अघि मात्रै अज्ञात व्यक्तिहरुले नवनियुक्त उर्जामन्त्री गोकर्ण विष्टमाथि धारिलो हतियारले आक्रमण गरेर उनलाई घाइते तुल्याएका थिए।

काठमाण्डूको खिचापोखरीमै एकजना व्यापारीको गोली हानी हत्या गरिएको थियो।

तर प्रहरीले कुनै पनि घट्नाका दोषीलाई गिरफ्तार गर्न सकेको छैन।

जेलभित्रै युनुस अन्सारीमाथि एकजना भारतीय युवाले गोली हानेको पनि धेरै भएको छैन।

उनलाई भने प्रहरीले तत्काल पक्राउ गरेको थियो।