माओवादीले गृहमन्त्री सहितको सूची तयार पार्ने

  • 15 एप्रिल 2011
माओवादी नेताहरु
Image caption गृह मन्त्री आफुलाई दिन माओवादी नेताहरुले प्रधानमन्त्रीमाथि चर्को दबाब दिएका छन्

एकीकृत नेकपा माओवादीले गृह मन्त्री सहितका आफ्ना थप मन्त्रीहरुको नाम शनिबार टुंग्याउने उक्त पार्टीका नेताहरुले बताएका छन्।

ती मन्त्रीहरुको एकसाथ शपथ ग्रहण नगराइए सरकारबाट आफ्ना सबै मन्त्रीहरु फिर्ता बोलाउने सम्मको चेतावनी उनीहरुले दिएका छन्।

प्रधानमन्त्री झलनाथ खनालले आफुहरुसंगको कुराकानीमा गृह मन्त्रालय दिन तयार भएको जनाएको उनीहरुको भनाई छ।

बैठक सर्‍यो

माओवादीले सरकारमा थप मन्त्री पठाउने निर्णय शुक्रबारै गर्ने ठानिएको थियो।

तर वरिष्ठ उपाध्यक्ष समयमा उपस्थित हुन नसक्ने भएपछि स्थायी समितिको बैठक शनिबारसम्मलाई सारिएको छ।

सोही बैठकमा गृह मन्त्रीसहितको सूची तयार पारिने नेताहरुको भनाई छ।

गृह मन्त्रालयको विवाद कायमै रहेको बेला तत्काल प्रधानमन्त्रीले माओवादीको तर्फबाट गृह मन्त्री नियुक्त गराउन नसक्ने कतिपयको अड्कललाई माओवादी नेताहरुले अस्वीकार गरेका छन्।

सो सूची अनुरुप तत्काल सबैको शपथ ग्रहण हुनुपर्ने बताउँदै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “प्रधानमन्त्रीले हामीसंग गरेको सहमतिको आधारमा निर्णय गर्ने र शपथ ग्रहण गर्ने हो। अब निर्णय गराउने अनि केहीलाई शपथ गराउने र गृह मन्त्रीलाई पछि गराउने भन्ने त हुन सक्दैन।”

प्रतिवाद

नेता प्रकाशले प्रष्ट पार्ने प्रयास गरेपनि प्रधानमन्त्री निकटहरुले अझै केही समय गृह मन्त्रालय माओवादीलाई नदिइने बताउन छाडेका छैनन्।

तर माओवादीका सचिव सी पी गजुरेलले त्यसको प्रतिवाद गरे।

“झलनाथ खनालजी हामीलाई गृह मन्त्रालय दिनेमै हुनुहुन्छ। हामीसंगको कुराकानीमा अहिलेसम्म प्रधानमन्त्रीले गृह मन्त्रालय दिन मलाई अप्ठेरो पर्‍यो भनेर भन्नुभएकै छैन,” गजुरेलको भनाई थियो।

एकातिर माओवादीले गृह मन्त्रालय पाउने कि नपाउने विवाद रहेको बेला अर्कोतिर पाएमा पार्टीबाट को गृह मन्त्री हुने भन्ने विवादपनि सेलाइसकेको छैन।

वर्तमान उपप्रधान तथा सञ्चार मन्त्री कृष्णबहादुर महरा, शान्ति मन्त्री वर्षमान पुन अनन्त तथा नेता देव गुरुङ्गको चर्चा पार्टीभित्र चलेको बताइन्छ।

तर पार्टीभित्रको बहसले निर्णय लिन कुनै अप्ठेरो नपारेको नेताहरुले बताएका छन्।

“निर्णय नहुञ्जेल व्यक्तिगत रुपमा विभिन्न चर्चा त चलेको होला। तर हामी सजिलै निर्णय लिन्छौं,” नेता प्रकाशले भने।

गएको दुई महिनादेखि शान्ति सुरक्षाको मूल जिम्मा पाएको गृह मन्त्रालयमा मन्त्री नियुक्त हुन नसकेको बेला केही दिन यता राजधानीमा गोली प्रहारका घटनाहरु लगालग भएका छन्।