किरण पक्षधरद्वारा प्रचण्डको कडा प्रतिवाद गर्ने तयारी

  • 21 एप्रिल 2011
माओवादीका तीन शीर्ष नेताहरु
Image caption प्रचण्डको प्रस्तावको केन्द्रिय समितिमा कडा प्रतिवाद गर्ने उपाध्यक्ष किरणको तयारी छ

शुक्रबारदेखि शुरु हुने केन्द्रिय समितिको बैठकमा माओवादीभित्र प्रचण्ड पछिका वरिष्ठ नेता उपाध्यक्ष किरण निकटका नेताहरुले अध्यक्षको नयाँ प्रस्तावको कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।

जनविद्रोहपट्टि जाने आफ्नो लाईनलाई अध्यक्षले धोका दिएको महशुश गरेका उनीहरुले, कुरा नमिले केन्द्रिय समितिको बैठकमा प्रचण्डको प्रस्तावमाथि फरक मत समेत राख्न सकिने संकेत दिएका छन्।

धराप

बिहीबार दिनभर जसो किरण पक्षधर नेताहरु केन्द्रिय समितिको बैठकमा आफ्ना रणनीति के हुने भन्ने छलफलमा व्यस्त थिए।

अध्यक्षले नयाँ प्रस्ताव ल्याएर जनविद्रोहको कार्यदिशालाई धरापमा पारेको महशुश गरेका उनीहरुले शुक्रबारको बैठकमा पुरानै लाईनमा फर्किन जोड दिने बताएका छन्।

उनीहरुका अनुसार पालुङ्गटारले निर्देशित गरेको कार्ययोजना कार्यान्वयन नगरी नयाँ नीति ल्याउने अध्यक्षको कदम गलत छ।

किरण निकटका माओवादी सचिव सी पी गजुरेलले भने, “नीतिमात्रै फेर्दै जाने कार्यान्वयन नगर्ने हो भने त केहीले पनि काम गर्दैन। अहिलेको समस्या भनेको नयाँ नीतिको आवश्यकता होइन कि अघिल्लो नीतिकै कार्यान्वयनको आवश्यकता हो।”

केन्द्रिय समितिमा नयाँ नीति पारित हुने स्थिति आएमा फरक मत राख्ने सम्भावना रहेको बताउँदै गजुरेलले आवश्यक परे अर्को विस्तारित बैठक वा राष्ट्रिय सम्मेलन सम्म गएर विवाद टुंग्याइने जनाए।

“यो विषय त टुंग्याउनै पर्छ। केन्द्रिय समितिले हल गरेन भने पुरानो नीति विस्तारित बैठकले तय गरेको हुनाले फेरि त्यही स्तरको बैठक गर्ने हो कि भन्ने कुरा पनि छ। एक राउण्ड केन्द्रिय समितिमा छलफल होस्, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौं,” गजुरेलको भनाई थियो।

ढुक्क

तर अर्का उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर नेताहरु भने अध्यक्षको नयाँ नीतिबाट उत्साहित देखिन्थे।

उनीहरुले केन्द्रिय समितिले समाधान दिने विश्वास व्यक्त गरे।

“अध्यक्षले जुन कार्ययोजना ल्याउनु भएको छ त्यो भन्दा अर्को विकल्प हामीसंग छैन। त्यसैले सम्भवत सर्वसम्मति होला, नभएपनि केन्द्रिय समितिले त्यसको अनुमोदन गर्छ,” भट्टराई निकट एकजना पोलिटब्यूरो सदस्य राम कार्कीले भने।

पाँच महिना अगाडि पालुङ्गटारमा भएको विस्तारित बैठकको मूल भावना समेटिएको भन्दै त्यसपछि लगत्तै बसेको केन्द्रिय समितिको बैठकले जनविद्रोहलाई मूल कार्यदिशा बनाएको थियो।

त्यतिबेला उपाध्यक्ष किरणपट्टि ढल्किएको आरोप लागेका अध्यक्ष प्रचण्डले बिहीबारको पोलिटब्यूरो बैठकमा अर्का उपाध्यक्ष बाबुराम भट्टराईले वकालत गर्दै आएका शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्द्रित हुनुपर्ने लाईनसंग मिल्दोजुल्दो तात्कालिक राजनीतिक प्रस्ताव पेश गरेका थिए।