किरणद्वारा फरक प्रस्ताव प्रस्तुत

  • 22 एप्रिल 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्डको प्रस्ताव र किरणको फरक प्रस्तावमाथि चर्को बहस हुने ठानिएको छ

शुक्रबारदेखि शुरु भएको केन्द्रिय समितिको बैठकमा किरणले पेश गरेको फरक प्रस्तावमा संविधान निर्माणअघि खासगरी सेना समायोजनका कुरामा विमति रहेको उनी निकटका माओवादी सचिव सी पी गजुरेलले बताएका छन्।

सेना समायोजनबारे प्रचण्डको प्रस्तावमा रिग्रुपिङ अर्थात समायोजन हुने तथा नहुने माओवादी लडाकूहरुलाई छुट्टाछुट्टै शिविरमा पहिले राखेर संविधानसभाको म्याद थप्ने कुरा रहेको तर किरणको प्रस्तावमा पहिले समायोजनका तौरतरीका स्पष्ट गर्नुपर्ने रहेको गजुरेलले जनाए।

सेना समायोजनमा विवाद

केन्द्रिय समितिको बैठकको प्रारम्भमा प्रचण्डले उनको नयाँ प्रस्ताव राख्ने बित्तिकै किरणले त्यसको दह्रो प्रतिवाद मात्रै गरेनन्, एउटा छुट्टै प्रस्ताव समेत राखे।

खासगरी सेना समायोजनका बारे प्रचण्डको प्रस्तावमा उल्लेखित पहिले रिग्रुपिङ गरेर एक कदम अगाडि बढेपछि संविधानसभाको म्याद नथप्ने षडयन्त्र चिर्न सकिने कुराहरुको किरणको प्रस्तावमा प्रतिवाद गरिएको नेताहरुले बताएका छन्।

“पहिला रिग्रुपिङ गर्ने हो कि समायोजनको तरिका तय गर्ने, त्यहाँनेर हो मूल कुरा। हाम्रो भनाई के छ भने पहिले समायोजनको तरिका तय गरेपछि रिग्रुपिङ गरे भइहाल्छ। तर पार्टीको नीति अनुरुप सम्बन्धित ठाउँबाट सेना समायोजनको कुरा नटुंग्याइकन संविधानसभाको म्याद चाहिं थपिहालौं भन्ने कुरा नगरौं भन्ने हाम्रो भनाई हो,” किरण निकटका माओवादी सचिव सी पी गजुरेलले बताए।

किरणको प्रस्तावले शान्ति प्रक्रिया र संविधान निर्माण गर्न नहुने भनेर कतै नभनेको गजुरेलको भनाई थियो।

तर केवल म्याद थप्न कुनै मस्यौदा तयार पार्ने पक्षमा आफुहरु नरहेको उनले बताए।

“विषयवस्तु टुंगिएकै छैन मस्यौदा जारी गर्ने भनेर हुँदैन। त्यसकारण पहिले विषयवस्तुलाई ठोस बनाउँ। हामीले भनेको कुरामा सहमति हुन्छ भने त संविधान बनाउने नि किन नबनाउने। तर अहिले संविधानसभाको म्याद थप्नकै लागि संविधानको एउटा झटारो हानेर पठाइदिउँ भनेर हुँदैन,” उनले भने।

पाँच महिना अगाडि प्रचण्ड र किरणको सहमतिमा बनेको जनविद्रोह मूल कार्यदिशा रहेको प्रस्तावको विरुद्ध अर्का उपाध्यक्ष बाबुराम भट्टराईले फरक मत ल्याएका थिए भने अहिले परिस्थिति ठ्याक्कै उल्टिएको छ।

प्रचण्डको पछिल्लो प्रस्तावप्रति भट्टराई पक्षधर सहमत छन् भने किरण पक्षधरले फरक प्रस्ताव ल्याएका छन्।

संविधानसभाको सबभन्दा ठूलो दल माओवादीभित्रको आन्तरिक विवाद चर्किएको बेला दोस्रो ठूलो दल नेपाली कांग्रेसभित्रको किचलो भने साम्य भएको छ।

सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्ण सिटौलालाई मनोनित गर्न पाँच महिना अगाडि राखेको प्रस्ताव शुक्रबार पारित भयो।

शुक्रबार बिहान भएको भेटवार्तामा देउवापक्षीय नेताहरुलाई सहमहामन्त्री तथा अरु केन्द्रिय पदहरु दिन सभापति सहमत भएपछि दिउँसोको केन्द्रिय कार्यसमितिको बैठकले उनको प्रस्ताव स्वीकृत गरेको थियो।