काठमाण्डूमा पिउनेपानीको बढ्दो हाहाकार

  • 10 मे 2011
पिउने पानी बोक्ने ट्याङ्कर तस्वीर कपीराइट .
Image caption सुख्खा तथा गर्मी याममा काठमाण्डूमा पानीको हाहाकार बढ्ने गर्छ

चढ्दो गर्मी संगै राजधानी काठमाण्डूमा पिउने पानीको हाहाकार पनि बढ्दै छ।

धेरै उपभोक्ताहरु मेलम्चीको पानी काठमाण्ड‍ू ल्याएपछि समस्या समाधान हुने आशामा छन्।

तर मेलम्ची आउनु अघि नै पानीका पुराना स्रोतहरुको मर्मसंभार गरी उपत्यकाभित्रकै स्रोतहरुबाट पानीको जोहो नगरिने हो भने पिउनेपानीको समस्या आगामी वर्षहरुमा झनै विकराल बन्ने चिन्ताहरु बढेका छन्।

करिब चालिस लाख मान्छेहरु बसोबास गर्ने काठमाण्ड‍ू उपत्यकामा दैनिक ३२ करोड लिटर पानीको माग छ।

तर अहिलेको सुख्खायाममा मुस्किलले मागको एक तिहाई अर्थात ११ करोड लिटर पानीको आपूर्ती भइरहेको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड, केयुकेएलको भनाई छ।

जेठसम्ममा पानीको उत्पादन ९ करोड लिटरमा झर्ने अनुमान छ।

चुहावट

निकै पुरानो वितरण प्रणाली भएको काठमाण्डूमा बल्लतल्ल संकलित पानी पनि ३५ प्रतिशत जति त चुहिएरै खेर जाने गरेको केयुकेएल आफै स्वीकार्छ।

धाराबाट पानी नआउने कैयौं टोलहरुमा केयुकेएल तथा निजीं ट्याङ्करहरुले पानी पुर्‍याउने गर्छन्।

वर्षौं देखि पानीको संकट विद्यमान रहेकोले केयुकेएलले काठमाण्ड‍ूबासीलाई भविष्यमा कसरी पानी पुर्‍याउला?

बहुचर्चित ठूलो खानेपानी आयोजना, मेलम्ची कुनै अवरोध नभए सन् २०१४मा सम्पन्न हुने अधिकारीहरुको आशा छ।

तर त्यो नभएको अवस्थामा के कस्ता विकल्पहरु छन् त?

केयुकेएलका प्रवक्ता सुरेशप्रसाद आचार्यका अनुसार ट्युववेलहरु खन्ने काम भइरहेको छ।

मर्मत

“केयुकेल करोडौंको घाटामा छ तैपनि हामी विभिन्न दाताहरुको सहयोग जुटाएर उपत्यका भित्रै दाताहरुको सहयोगमा पानीको जोहो गर्दैछौं।”

प्रवक्ता आचार्यका अनुसार केयुकेएलले जीर्ण भएका पाइपहरुको पनि मर्मत गरिरहेको छ।

तर केयुकेएलका कामहरुप्रति तिब्र असन्तुष्टी राख्नेहरुको जमात पनि ठ‍ूलै छ।

पिउनेपानी र सरसफाईको क्षेत्रमा कामगरिरहेका गैरसरकारी संस्थाहरुको मञ्चका कार्यक्रम अधिकृत त्रिरत्न मानन्धरका विचारमा केयुकेलले उपभोक्ताहरुलाई लगातार निराश पार्ने काम मात्र गरिरहेको छ।

“कतिपय ठाउँमा दशकौं देखि पानी आएकै छैन; कतिपय ठाउँमा ढल मिसिएको पानी आइरहेको छ।”

मानन्धरका विचारमा काकाकुल काठमाण्ड‍ूबासीले आकासेपानी संकलन गर्ने तथा पुराना इनार र ढुङ्गेधाराहरु मर्मत गरेमा स्थितिमा थोरै भएपनि सुधार आउन सक्छ।

विकल्पहरु

खानेपानी र सरसफाईको क्षेत्रमा काम गरिरहेको वाटरएड् नेपाल संस्थाका राष्ट्रिय प्रतिनिधि आशुतोष तिवारीका विचारमा समग्र व्यवस्थापनमा सुधार भएपनि पानीको हाहाकार कम हुन सक्छ।

विज्ञहरुका अनुसार राजधानी वरिपरिका पहाड र खोंचहरुमा साना तटबन्धहरु बनाएर ठ‍ूलो परिमाणमा वर्षेपानी संकलन गरियो भने त्यो मेलम्चीको भरपर्दो विकल्प हुन सक्छ। तर त्यसो हुन सकेको छैन।

पिउनेपानीको वितरण प्रणालीमा गम्भीर त्रुटी तथा कमीकमजोरी जारी रहेको भन्ने उपभोक्ताका गुनासा सुन्दै केयुकेएल अघिल्ला सुख्खायाममा जस्तै यसपाली पनि पानी नपुगेका स्थानहरुमा पानी ट्याङ्करहरुबाट पानी आप‍ूर्ती गर्न व्यस्त देखिन्छ।

धाराबाट सफा पानी आउने आशा मारिसकेका उपभोक्ताहरु भने निजी खर्चमैं ट्याङ्करको पानी अथवा बजारबाट महंगा मिनरल वाटरका जार किनेर जीवन गुजार्न बाध्य छन्।