बीन लादेनको जासुसीमा विफल भएको पाकिस्तानद्वारा स्वीकार

  • 3 मे 2011
अबोताबादमा रहेको ओसामा फेला परेको घर तस्वीर कपीराइट Reuters
Image caption बीन लादेन बसिरहेको घर पाकिस्तानी सेनाको प्रतिष्ठित प्रतिष्ठानको नजिकै थियो

पाकिस्तानी गुप्तचर निकाय आइएसआइका एकजना अधिकारीले बीन लादेनको जासुसीमा विफल भएको स्वीकार्दै त्यसले आफुहरु लज्जित भएको बीबीसीलाई बताए।

आइतबार अमेरिकी सैनिकहरुले ओसामालाई भेटेर मारेको अबोताबादको घर कम्पाउण्डमा सन २००३ मा आफुहरुले छापा मारेको ती अधिकारीले बताए।

लज्जाको विषय

तर त्यस यता उक्त घर आफ्नो निगरानीमा नपरेको उनको भनाई थियो।

उक्त अधिकारीका अनुसार सन २००३ मा बन्दाबन्दै गर्दा अल कायदाका अबु फरल अल लीबी त्यहाँ रहेको विश्वासमा सो घरमा उनीहरुले छापा मारेका थिए।

तर त्यसयता आफुहरुले त्यसलाई ध्यान नदिएको उनको भनाई थियो। यो आइएसआइको निम्ति ठूलो लज्जाको विषय भएको बताउँदै उनले भने - हामी प्रभावकारी छौं, तर हामी भगवान होइनौं।

सो घर पाकिस्तानी सेनाको एउटा मुख्य प्रतिष्ठानभन्दा केही सय मीटरको दुरीमै थियो।

हमला विवरण

उक्त आइएसआइ अधिकारीले अमेरिकी सैनिकहरुले गरेको हमलाका ताजा विवरणहरु दिंदै बीन लादेनको सानी छोरीले आफ्नो बुबालाई गोली हानेको देखेको बताएको उल्लेख गरेका छन्।

हमलाका बेला सो घरमा १७/१८ जना मानिसहरु रहेको र बीन लादेनका छोरा भएको ठानिएका एकजना मानिसलाई अमेरिकीहरुले जिउँदै लगेको उनले बताए।

हमलामा बाँचेकाहरुमा बीन लादेनका एकजना श्रीमति, एकजना छोरी र आठ/नौ जना अन्य केटाकेटि थिए र सबैको हात बाँधिएको थियो।

सो अधिकारीका अनुसार अमेरिकीहरुले ती सबैलाई लैजान चाहेका थिए। तर हमलामा प्रयोग गरिएका मध्येका एउटा हेलिकप्टरमा खराबी आएपछि उनीहरुले त्यसो गरेनन्।

सो हेलिकप्टरलाई पछि अमेरिकी सैनिकहरुलेनै ध्वस्त बनाइदिए।

अमेरिकाले बीन लादेनको शव लगेको बाहेक अरुलाई समातेको वा समाउन चाहेको बारे केही बताएको छैन।

पाकिस्तान ‘दृढ’

पाकिस्तानी विदेश सचिव सलमान बशीरले उनको देशले आतंकवाद विरुद्धको लडाईंलाई सघाएको र अझै सघाउने बताएका छन्।

बीन लादेनलाई पाकिस्तानभित्र मारिएपछि त्यहाँको सरकार तीव्र दबाबमा परेको ठानिएको बेला उनले अब भविष्यतर्फ केन्द्रित हुनुपर्ने बताए।

“हामी भविष्यतर्फ केन्द्रित हुन चाहिरहेका छौं। ओसामा बीन लादेनको मुद्दा अब इतिहास भइसक्यो। हामी इतिहासमै अल्झिरहन चाहँदैनौं। पाकिस्तानले आतंकवाद विरुद्ध सशक्त सहयोग गरेको छ। पाकिस्तानले धेरै बलिदान दिएको पनि छ। यो हाम्रो नम्बर एक प्राथमिकता हो। हाम्रो माटो आतंकवादको निम्ति प्रयोग हुन नदिन हामी दृढ छौं,” बशीरले भने।

पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले आफुहरुले पटक्कै नसोचेको ठाउँमा बीन लादेन फेला परेको स्वीकार गरेका छन्।

अमेरिकाबाट प्रकाशित हुने वाशिंगटन पोष्टमा छापिएको लेखमा उनले पाकिस्तान आतंकवाद विरुद्धको लडाईमा विफल भइरहेको भन्ने कुराको खण्डन गरेका छन्।