जानकारी नपाउँदा कोरियामा दुख पाएको कामदारको गुनासो

  • 8 मे 2011
त्रिभुवन विमानस्थल तस्वीर कपीराइट .
Image caption अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक आठ सय नेपाली विदेशिने गरेको सरकारी तथ्याङ्क

दक्षिण कोरिया पुग्न तँछाड मछाड हुने गरे पनि त्यहाँ पुगेका कतिपय नेपाली कामदारहरुले दुख पाउनुका साथै कार्यरत कम्पनी छाडेर भाग्ने गरेका छन्।

उक्त कुरा त्यहाँ कार्यरत कामदार र नेपाली अधिकारीले बताएका हुन्।

देशभित्र चरम बेरोजगारीका कारण विदेश पलायन हुन बाध्य नेपालीहरुले राम्रो तलब सुविधा पाइने भएकाले खाडीका देशभन्दा दक्षिण कोरियालाई निकै प्राथमिकता दिने गरेका छन्।

गत हप्ता तेस्रो चरणको इपीएस सेवा खुल्दा रोजगारीको निम्ति त्यहाँ जान झण्डै ६० हजार नेपालीले फारम भरेका थिए।

समस्या

तर आफुले गर्ने कामको प्रकृति र करारबारे ध्यान दिनुपर्ने त्यहाँ पुगेका कामदारहरु बताउँछन्।

एक कामदार सुरेन्द्र बराल भन्छन्, "समुन्दमा कसरी माछा मार्ने, १४ डिग्री भन्दा जाडोमा काम गर्नु पर्ने लगायतका विषयमा धेरै नेपालीलाई जानकारी हुँदैन।"

नेपालीले दक्षिण कोरियामा माछा पालन, कृषि र ‌औद्योगिक उत्पादनका क्षेत्रहरु काम पाउने गर्छन्।

विशेष गरि विदा नपाउने समुन्द्रमा हप्तौसम्म विताउनु पर्ने, नेपाली संस्कार विपरित काम गर्नुपर्ने अन्य समस्या हुने गरेको बरालको भनाई थियो।

कतिपय कम्पनिले १२ घन्टा काम गराएर आठ घन्टाको मात्र तलव दिने गरेको गुनासो पनि सुनिन्छ। प्रितम गुरुङ इपीएसको नियम अनुसार तलव नपाएको गुनासो गर्ने मध्येका एक कामदार हुन्।

कारण

विगतमा वैदेशिक रोजगारमा जानेको दाँजोमा कोरिया जानेहरु शिक्षित हुनु तर शिक्षा अनुसारको काम नपाउने भएकाले समस्या बढेको कतिपयको बुझाई छ।

कोरियास्थिति नेपाली राजदूत कमलप्रसाद कोइराला भन्छन्, "नेपालीले निकै गाह्रो काम पाउँछन् अनि करारको काम छोडेर गैरकानुनी रुपमा बस्ने गरेका छन्।"

कोरियामा नेपालीले गर्ने काम गाह्यो, फोहोरी र जोखिमयुक्त हुने गरेको उनको भनाई छ।

उनको सुझाव छ, "त्यसैले कामदार आफै सचेत हुनु पर्छ। कोरियाको कानुन निकै कडा हुने भएकाले करारका प्रावधानहरु अध्ययन गर्न जरुरी छ।"

सरकारले विस्तृत जानकारी र प्रशिक्षण दिनुपर्ने कामदारहरुको माग छ।

तर वैदेशिक रोजगार विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले छनौट भएकालाई एक हप्ता लामो तालीम दिनुका साथै त्यस अघि पत्रपत्रिका मार्फत पनि प्रसस्त जानकारी दिने गरेको बताउँदै कामदारहरुको गुनासो अस्वीकार गरे।

कोरिया जान पछिल्लो पटक करिव ६० हजारले फारम भरेका छन्।

उनीहरु मध्ये सात हजार जतिलाई छनौट गरिने बताइएको छ।