कांग्रेसद्वारा म्याद थप्न सर्त सार्वजनिक

  • 20 मे 2011
कांग्रेस सभाका सहभागि तस्वीर कपीराइट .
Image caption कांग्रेसले देशव्यापी कार्यक्रमको अन्तिम सभा काठमाण्डूमा गरेको हो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सकिनै लागेको संविधानसभाको म्याद थप्न दश सूत्रीय सर्त अघि सारेको छ।

काठमाण्डूको खुला मञ्चमा गरिएको सभा मार्फत सार्वजनिक गरिएको सर्त पुरा नभए संविधानसभाको म्याद थप्न नसघाउने चेतावनी कांग्रेस नेताहरुले दिए।

सर्तहरु

जेठ १० गतेभित्र पुरा गर्नु पर्ने कांग्रेसको सर्तमा 'बढीमा चार हजार लडाकुहरूलाई व्यक्तिगत आधारमा सुरक्षा निकायको स्थापित मापदण्डका आधारमा समायोजन गर्ने' उल्लेख छ।

संख्याको बारेमा छलफल गर्न सकिने बताएको माओवादी समूहगत समायोजन हुनु पर्ने अडानमा छ।

त्यस्तै शिविरमा रहेका सबै हातहतियारहरू विशेष समितिमार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने कांग्रेसको अर्को सर्त हो।

समायोजन प्रकृया अनुसार त्यसो गर्न सकिने बताएर माओवादी सचिव पोष्टबहादुर बोगटीले कांग्रेसले चाहेको समयभित्र हुन नसक्ने उल्लेख गरे।

राष्ट्रिय सहमतिको नयाँ सरकार निर्माणको बाटो खुला गर्न प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिनु पर्ने मागलाई कांग्रेसले दशौं नम्वरमा राखेको छ।

माओवादीको जिम्मा

सभामा कांग्रेस सभापति सुशील कोइरालाले सर्त पालना गरी राजनीतिक गाँठो फुकाउने मूल अभिभारा माओवादीमाथि रहेको बताएका थिए।

उनले भने, "माओवादी इमान्दार हुने हो भने अझै पनि शान्ति र संविधान सम्भव छ। हामी अझैं सहमति र सहकार्यबाट समस्याको हल खोज्न चाहन्छौं।"

नेपाली सेनाको मातहतमा आफ्ना लडाकू समायोजन गर्ने माओवादीको निर्णयलाई अन्य नेताहरुले त्यति महत्व दिएनन्।

तर भूतपूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले भने, "यदि माओवादीले समायोजनबारे नेपाली सेनाको प्रस्ताव हुवहु मान्न तयार भएको हो भने त्यो सकारात्मक हो।"

माओवादीले भने सेनाको प्रस्ताव दुरुस्तै मान्न नसकिने बताएको छ।

दुई तिहाइ बहुमतको आधारमा भए पनि संविधानसभाको म्याद थप्ने कतिपय सरकार पक्षिय नेताहरुको भनाईप्रति कांग्रेस नेताहरुले आक्रोश प्रकट गरे।

क्रुद्ध

उपसभापति रामचन्द्र पौडेलले चेतावनी पूर्ण रुपमा भने, "त्यस्तो सोंचेको हो भने ख्याल रहोस, कांग्रेसले नचाहँदासम्म गणतन्त्र नआए जस्तै हामीले नचाँहदासम्म नयाँ संविधान पनि आउँदैन।"

महामन्त्री प्रकाशमान सिंहले आफ्नै दलभित्र सहमति जुटाउन नसक्ने प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन नसक्ने भन्दै उनको राजिनामा माग गरेका थिए।

विगतमा पार्टीभित्रै माओवादीप्रति नचाहिँदो रुपमा लचिलो भएको आरोप खेपेका अर्का महामन्त्री कृष्णप्रसाद सिटौला सभा माओवादीविरुद्ध निकै क्रद्ध रुपमा प्रस्तुत भएका थिए।

काठमाण्डूस्थित बीबीसी नेपाली सेवाका एकजना संवाददाता भन्छन्, दबाब दिन हुन सक्छ, कांग्रेस नेताहरुले माओवादी र प्रधानमन्त्रीको चर्को आलोचन गरे पनि अधिकांश नेताहरुले राजनीतिक सहमतिको सम्भावना पूर्ण अस्वीकार गरेनन्।