वार्ताको स्थिति निराशाजनक: नेताहरु

  • 27 मे 2011
माओवादी नेताहरु
Image caption हतियार बुझाउँदा आत्मसमर्पण गरेको ठानिने भन्दै माओवादीले त्यसो नगर्ने बताएको छ

संविधानसभाको म्याद एक दिनमात्र बाँकि रहँदा म्याद थप्ने वा नथप्ने विषयमा प्रमुख दलहरुबीच शुक्रबार दिनभर बसेको बैठक विफल भयो।

माओवादीले आफ्ना लडाकू र हतियारको सम्बन्ध विच्छेद नगराएसम्म म्याद थप्नुको औचित्य नरहने प्रतिपक्षी नेपाली कांग्रेसको अडान छ भने त्यसो गर्दा आत्मसमर्पण गरे सरह हुने माओवादीको जिकिर छ।

हतियारको मामिला नसुल्झिएसम्म संविधानसभाको आयू अन्योलमै रहिरहने देखिएको छ।

निराश

अडानहरु लचक हुनुको साटो कठोर बनेका कारण वार्तामा सहभागी नेताहरु स्वयंपनि सफलताप्रति निराश देखिएका छन्।

“शुक्रबारको छलफलमा मैले कतिपय बुँदाहरुमा बिहिबारको भन्दापनि पछि धकेलिएको जस्तो अनुभव गरें। त्यो हेर्दा अगाडि जटिल अवस्था त आउने होइन भनेर आशंका गर्ने ठाउँ छ,” एमाले नेता रावलले भने।

उनका अनुसार विगतका सम्झौताहरु कार्यान्वयन गर्नेबारे बिहिबार सम्म देखिएको सहमति समेत शुक्रबार केही बिग्रिएको थियो।

माओवादीका नेताहरुले समेत हालसम्मको वार्ताप्रति निराशा प्रकट गरे।

कठोर

नेपाली कांग्रेसले माओवादीलाई ऊ आफैं सहभागी सरकारलाई हतियार राखिएका कन्टेनरहरुको साँचो बुझाउन आग्रह गरेको थियो।

तर शुक्रबार आफ्नो पार्टिको एउटा कार्यक्रममा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले हतियार बुझाउने कांग्रेसको मागप्रति लचिलो नहुने बताएका थिए।

रगतसंग साटिएको हतियार सजिलै नबुझाउने बताउँदै उनले जारी वार्तालाईपनि लडाईंकै एउटा मोर्चाको रुपमा चित्रण गरे।

त्यही किसिमको अडान माओवादीले वार्तामा पनि राखेको थियो।

“हामी हतियार राखिरहन चाहन्नौं। तर कुरा के हो भने यो विषय त सेना समायोजनको प्रक्रियासंगै हल गर्ने हो,” माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने।

‘प्रगति भएन’

शुक्रबार बिहानको एक चरण वार्ता विफल भएपछि दिउँसो आ आफु आन्तरीक छलफलमा जुट्न भन्दै केही समय छुट्टिएका दलहरु अपरान्ह फेरी एकै थलोमा भेला भएका थिए।

करीब चारबजेदेखि शुरु उक्त वार्ताले केही प्रगति गरेन।

शनिबार फेरी बस्ने गरी सकियो।

कुरा माओवादीको हतियार कसरी व्यवस्थापन गर्ने भन्नेमा अड्किएको वार्तास्थलबाट बाहिर निस्किएका नेताहरुले बताए।

“हातहतियारको व्यवस्थापनको प्रक्रिया के हुन सक्छ भन्ने सम्बन्धमा समग्रतामा समायोजनसंगै पछि गर्ने माओवादीको भनाई आयो। तर विगतमा भएका कतिपय सहमति अनुरुप त्यो प्रक्रिया तत्काल आरम्भ हुनुपर्छ भन्ने नेपाली कांग्रेस र एमालेको अडान रह्यो,” एमालेका नेता भीम रावलले बताए।

संविधानसभाको दिनगन्ती घण्टा गन्तीमा झरेको बेला दलहरुको वार्ताको अन्तिम परिणामप्रति चासो र चिन्ता भने देशभित्र र बाहिरबाट समेत ओइरिन थालेको छ।