संयुक्त सरकारको प्रस्ताव तयार पार्न पहल गर्नेछु: प्रम

  • 31 मे 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्री खनालले तत्काल राजीनामा नदिने तर नयाँ सरकारको लागि पहल गर्ने बताए

पाँच बुँदे सहमति बमोजिम तत्काल राजीनामा दिनुपर्ने कतिपयको माग अस्वीकार गरेका प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिमा संयुक्त सरकार बनाउन भने आफैंले पहल गर्ने बताएका छन्।

प्रधानमन्त्री भएपछि राष्ट्रका नाममा दिएको आफ्नो दोस्रो सन्देशमा मंगलबार झलनाथ खनालले खासगरी संविधानसभाको म्याद थप्न भएको पाँच बुँदे सहमतिका विवादग्रस्त पाँचौं बुँदाबारे प्रष्ट्याउने कोशिश गरे।

पहल

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीले राजीनामा दिने भनिएको उक्त बुँदालाई स्वागत गर्दै उनले त्यसको कार्यान्वयनको लागि आफैंले पहल गर्ने बताए।

“राष्ट्रिय सहमतिको संयुक्त सरकार बनाउन जेठ १४ गते भएको सहमति मेरालागि अत्यन्त खुशीको कुरा हो। त्यसैले राष्ट्रिय सहमतिको आधारमा संयुक्त सरकारको प्रस्ताव तयार पार्न म स्वयं प्रधानमन्त्री तथा एमाले अध्यक्षको हैसियतले पहल गर्नेछु,” प्रधानमन्त्रीको भनाई थियो।

उनले त्यस्तो प्रस्ताव कहिलेसम्म तयार पार्ने भन्ने बताएनन् तर नयाँ सरकार बनाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई विकल्प सुझाउन चाहीं अपील गरे।

खण्डन

खासगरी प्रमुख प्रतिपक्षी दलका केही नेताहरुले पाँच बुँदे सहमति बमोजिम तत्काल राजीनामा दिनुपर्ने भनी राखेका भनाईहरुको प्रधानमन्त्रीले घुमाउरो ढंगले खण्डन गरेका छन्।

“विगतमा सात महिनासम्म मुलुक सरकारविहिनताको अवस्थामा रहनुपरेको पीडादायी अवस्थाको पुनसंस्मरण गरी त्यसप्रति उचित ध्यान पुर्‍याएरमात्रै हामीले यस सन्दर्भमा बुद्धिमत्तापूर्वक कदम चाल्न सक्नुपर्छ,” उनले गतवर्ष माधवकुमार नेपाल नेतृत्वको सरकारले राजीनामा दिएपनि सात महिना काम चलाउनुपरेको अवस्था सम्झँदै भने।

थपिएको तीन महिनामापनि शान्ति प्रक्रिया र संविधानको टुंगो लाग्नेमा धेरैले गर्ने गरेको शंका हटाउन प्रधानमन्त्री खनालले प्रयास गरे।

विशेष रुपमा माओवादी र कांग्रेसतिर संकेत गर्दै उनले ती दुई दल जिम्मेवार बने समस्या समाधान हुन धेरै बेर नलाग्ने बताए।

“माओवादी आफुलाई लखेंटिइदैछ भन्ने बहानामा नभाग्ने र अरुले पनि माओवादी भाग्न खोज्दैछ भन्ने बहानामा नलखेट्ने हो भने आउँदा केही हप्ताभित्रै हामीले शान्ति प्रक्रिया र संविधान निर्माणमा आशातीत सफलता प्राप्त गर्न सक्ने आधारहरु तयार भइसकेका छन्,” उनले भने।

माफी

शान्ति र संविधान निर्माणको प्रक्रियामा भएका ढिलाईहरुप्रति उनले देशबासीहरुसंग माफि मागेका छन्।

राजनीतिक दलहरुको तर्फबाट माफी माग्दै एवं राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव पेश गर्ने वाचा सहित आएको प्रधानमन्त्री खनालको सन्देशलाई कतिपयले सकारात्मकरुपमा लिएका छन्।

तर पाँच बुँदे सम्झौताबारे भएका विविध व्याख्या र दलहरुभित्रैका विवादका कारण उनको वाचाले तुरुन्तै संकट समाधान गरिहाल्नेमा धेरैलाई शंका छ।