राष्ट्रिय राजनीतिमा अन्तर्राष्ट्रिय चलखेल

  • 1 जुन 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption खनालका अनुसार राजनीतिक जोखिमबाट बच्ने एउटै उपाय सहमति हो

नेपालको जटिल संक्रमणकाल लम्बिंदै जाँदा विदेशी प्रभाव फैलिंदै गएको छ।

थपिएको एक वर्षको समयमा पनि संविधानसभाले नयाँ संविधान बनाउन नसकेकोमा माफी माग्दै राष्ट्रका नाम मंगलबार दिइएको आफ्नो दोश्रो संबोधनमा प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय राजनीतिमा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलको चर्चा गरेका छन्।

देशभित्रका शक्तिहरुबीच अविश्वास गहिरिंदै जाँदा देश बाहिरका शक्तिहरुको भूमिका बढ्दै जानु नेपाली राजनीतिको एउटा महत्वपूर्ण पक्ष बन्न गएको बेला खनालले त्यस्तो चर्चा गरेका छन्।

उनले भने,“नयाँ राजनीतिक व्यवस्थाको जग समेत बसिनसकेको यस अवस्थामा हामीमाथि अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिका अनेकन दवाबहरु पर्नु स्वाभाविक छ।”

प्रधानमन्त्री खनालको यो भनाई जटिल संक्रमणकालबाट गुज्रिरहेको नेपालमा घात प्रतिघातको राजनीति चर्केको स्वीकारोक्ति हो।

टक्कर

नेपालका सरकार प्रमुखबाट आएको संभवत यस्तो किसिमको पहिलो स्पष्ट स्वीकारोक्ति हो।

विदेशी चलखेलको कुरा गर्दा संभवत छिमेकी देशहरुतिर संकेत गर्दै उनले क्षेत्रीय दवाबको चर्चा गरेका छन।

क्षेत्रभन्दा बाहिर अर्थात पश्चिमा देशहरुतिर संकेत गरेको ठानिएको त्यही प्रसंगमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय दवाबको प्रसंग कोट्याएका छन्।

हुनपनि केही वर्षअघिसम्म छिमेकी देशहरु त्यसमा पनि दक्षिणी छिमेकी भारतको निर्णायक प्रभाव रहने गरेको नेपालको राजनीतिको दिशा निर्धारणमा अहिले यो क्षेत्रभन्दा बाहिरका देशहरुको भूमिकापनि फैलिंदै गएको धेरैको भनाई छ।

उनीहरु भन्छन, गएको दुई दशक देखि विस्तारै बढ्न थालेको यो बाह्य भ‍ूमिकाले पछिल्ला केही वर्ष यता निकै गति लिएको छ।

बाह्य स्वार्थहरुको यो टक्कर संविधानसभाको म्याद थप गर्ने वा नगर्ने भन्ने विवादमा छर्लंग भएको कतिपय विश्लेषकहरुको भनाई छ।

म्याद थपको समर्थनमा यो क्षेत्रभन्दा बाहिरका शक्तिहरुको तुरुन्त आएको वक्तव्य र क्षेत्रका छिमेकी देशहरुको मौनतालाई उनीहरुले त्यही पृष्ठभूमिमा हेरेका छन्।

तर अन्तर्राष्ट्रिय कूटनीति र रणनीतिमा जे देखिन्छ त्यहीनै सत्य हुन्छ भन्ने निश्चित हुँदैन।

नेपालको हकमा एउटा के चाहीं निश्चित हो भने राष्ट्रिय राजनीतिको मैदानमा अन्तर्राष्ट्रिय खेलाडीहरुको दवदबा बढेको छ।

यो नेपालले चाहेको स्थिर, शान्त र उन्नत भविष्यका लागि सुखद संकेत होइन।

मृगमरिचिका

संभावित जोखिमपूर्ण भविष्यबाट बच्ने उपायका रुपमा धेरैले राष्ट्रिय सहमतिमाथि जोड दिने गरेका छन जुन प्रधानमन्त्री खनालले पनि गरे।

उनले भने, “यसर्थ न्यूनतम राष्ट्रिय सहमति बाहेक हामीसंग अर्को कुनै बाटो छैन।”

तर विश्लेषकहरुका अनुसार आपसी अविश्वासको जगमा ठड्याइएको सहमति भन्दा विश्वासको जगमा बनाइएको असहमतिको राजनीति प्रजातन्त्रको विशेषता हो।

उनीहरु भन्छन, यो कुराको हेक्का नराखिएसम्म नेपालमा बाह्य भूमिका बढीरहनेछ र स्थिरता, शान्ति र प्रगति मृगमरिचिका भइरहनेछ।