दरबार हत्याकाण्डपछिका दश वर्ष

  • 2 जुन 2011
नारायणहिटि दरबार संग्रहालय तस्वीर कपीराइट BBC World Service
Image caption हत्याकाण्ड भएको नारायणहिटि दरबार हाल संग्रहालयमा परिणत भएको छ

दश वर्ष अगाडि भएको कहालीलाग्दो दरबार हत्याकाण्डको सम्झना गर्दा धेरै नेपालीहरु अझैपनि झस्कन्छन्।

उक्त घटनामा तत्कालीन राजा वीरेन्द्रको वंशनाशमात्रै भएन त्यसले आज पर्यन्त नेपालको राजनीतिलाई उथलपुथल पारिरहेको छ।

त्यस अघि लगभग शब्दकोशमैमात्र सीमित गणतन्त्र, देशको यथार्थ बनेको छ।

तर त्यसपछि तीव्र गतिमा फैलिएको राजनीतिक अनिश्चयको बादल अझै फाटेको छैन।

क्रमभंग

तत्कालीन नारायणहिटि राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रको मृत्यु भएपछि त्यतिखेर अस्पतालमा बेहोशी अवस्थामा रहेका भनिएका युवराज दिपेन्द्रलाई राजा भएको सूचना तत्कालीन राजसभा स्थायी समितिका सभापति केशरजंग रायमाझीले पहिलोपटक औपचारिक रुपमा दिएका थिए।

केही दिनभित्रै उक्त घटनामा परी मर्नेहरुको संख्या राजा, रानी, युवराज सहित दश पुग्यो।

करीब अढाई सय वर्ष पुरानो शाहवंशीय शासनकालको निरन्तरतामा सोही घटनामार्फत आएको क्रमभंगता थियो राजाका छोरा नातीका सट्टा भाई गद्दिनसीन हुनु।

लगत्तै देशको राजनीतिले अनपेक्षित मोडहरु लिन शुरु गर्‍यो।

उक्त घटनाको दुई महिना नवित्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामाबाट शुरु भएको सो कडि अझैसम्म अविच्छिन्न छ।

एकपछि अर्को सरकार ढल्नुमा मात्र उक्त कडि सीमित रहेन।

लिखित इतिहास भएदेखि पहिलोपल्ट नेपाल राजतन्त्रात्मक व्यवस्थाबाट गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गर्‍यो, सो हत्याकाण्डको ठिक सात वर्षपछि।

टकराव

शासन व्यवस्था परिवर्तन हुन सहायक रह्यो दरबार हत्याकाण्ड लगत्तै आम नेपालीको मनमा उत्पन्न नैराश्य तथा नयाँ राजा बनेका ज्ञानेन्द्रको कार्यशैली।

आफु राजा भएको १६ महिना पुग्दा नपुग्दै उनले निर्वाचन गराउन नसकेको मुख्य अभियोगमा निर्वाचित सरकार विघटन गरिदिए।

२०५९ असोज १८ गते उनले गरेको सो निर्णयले उसै त एकातिर तत्कालीन नेकपा माओवादीले चलाएको शसस्त्र विद्रोहमा नराम्ररी गाँजिएको मुलुक, संसदवादी दलहरु तथा राजाबीचको तीखो टकराव बेहोर्न वाध्य भयो।

त्यो टक्करले राजतन्त्रै उखेल्ने स्वरुप त्यतिबेला लियो जतिबेला राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शासनमा प्रत्यक्ष हात हालेर त्यतिञ्जेल सिंहदरबार वरपरनै विरोधमा सीमित दलहरु र जंगलमा रहेर शसस्त्र विद्रोह गरिरहेका माओवादीलाई नजिक ल्याइदिए।

त्यसको नतीजा कुर्न उनलाई पन्ध्र महिनापनि लागेन जब उनले आन्दोलनका अगाडि घुँडा टेक्नु पर्‍यो।

कारण र परिस्थिति जेजस्तो रहेपनि दश वर्ष अगाडिको दरबार हत्याकाण्ड नभएको भए देशको राजनीतिले कस्तो मोड लिन्थ्यो होला भन्ने त केवल अनुमानको विषय भएको छ।

एउटा के कुराचाहीं प्रष्ट भएको छ भने गणतन्त्र अंगालिसकेपछि समेत देशमा जारी अस्थिरताले अनेकौं शंकाहरु जन्माएका छन्।

गत आठ वर्षदेखि राजनीतिक विषयमा नियमितरुपमा जनमत सर्वेक्षण गर्दै आएको एउटा संस्था इन्टरडिस्सीप्लीनरी एनलिष्टको पछिल्लो सर्वेक्षण अनुसार, दरबार हत्याकाण्ड भएको र गणतन्त्र आएको लामै समय भइसकेको भएपनि राजतन्त्रप्रतिको धारणा त्यत्ति धेरै नकारात्मक देखिंदैन।