माओवादी नेताका पार्टीगत सुरक्षाकर्मी फर्कँदै

  • 5 जुन 2011
nanda kishor pun
Image caption एक साता भित्रै सुरक्षाकर्मी लडाकुहरु फिर्ता हुने पुनले बताए

एकीकृत नेकपा माओवादीका नेताहरुको सुरक्षा गर्न खटिएका सबै माओवादी लडाकुहरु एक साताभित्र फिर्ता भइसक्ने माओवादी सैन्य कमाण्डर नन्द किशोर पुनले बताएका छन्।

पहिलो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका पचास मध्ये केहि शनिबार र केहि आइतबार फिर्ता भएका छन्।

पुनका अनुसार प्रचण्डका सुरक्षाकर्मी केहि अझ बाँकी छन्।

पुनले भने, “पार्टीको निर्णय सबैलाई जानकारी गराइसकेका छौं, एक हप्ताभित्र सबै फिर्ता हुन्छ्न्।”

शुरुवात

संविधानसभाको म्याद थप्दा माओवादी नेताहरुले उपयोग गर्दै आएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्नुपर्ने अरु दलहरुको शर्त कार्यान्वयनको शुरुवातका रुपमा लडाकु फर्केका हुन्।

पार्टीभित्रका वरिष्ठ नेताहरुको तीव्र आपत्ती रहेता पनि माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारीहरुको बैठकमा बहुमतका आधारमा आफ्ना सुरक्षामा खटिएका पूर्व लडाकुहरुलाई शिविरमा पठाउने निर्णय लिएका थिए।

त्यसको पहिलो कार्यान्वयन प्रचण्डले आफैबाट शुरु गरेका छन्।

खासगरी माओवादी पार्टीभित्र सैद्धान्तिक कट्टरपन्थी भनेर चिनिएका उपाध्यक्ष मोहन बैद्य र बैद्य पक्षधर नेताहरु आफ्ना सुरक्षामा खटेका लडाकु फिर्ता पठाउने कामको विरोधमा छन्।

पार्टीको निर्णय भइसकेकाले आफुहरुले सुरक्षाकर्मी फिर्ता पठाउने तर त्यसका लागि प्रक्रिया बाँकी रहेको किरणले बताए।

माग

संविधानसभाको म्याद थप्दा खासगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले दश बुँदे मार्फत माओवादी नेताहरुले उपयोग गर्दै आएको दोहोरो सुरक्षा प्रणाली हटाउनुपर्ने माग राखेको थियो।

म्याद थपिए लगत्तै बसेको लडाकु व्यवस्थापन विशेष समिति बैठकले माओवादी नेताहरुको सुरक्षामा खटिएका लडाकुलाई तत्काल सम्बन्धित शिविरमा पठाउने र तिनले प्रयोग गर्दै आएका हतियार शक्तिखोर शिविरका कन्टेनरमा पुर्‍याइने निर्णय गरेको थियो।

एक सयको हाराहारीमा हतियार र पूर्व लडाकुहरु प्रमुख नेताहरुको सुरक्षामा खटेको बताइएको छ। ।

पुनका अनुसार ती सबैलाई एकसाताभित्रै फिर्ता पठाइनेछ।