शीर्ष नेताहरुको बैठक स्थगित

  • 18 जुन 2011
ram chandra poudel
Image caption संविधान निर्माण र शान्ति प्रक्रिया दुवैमा प्रगति भएको छैन

संविधानसभाको म्याद सकिने अन्तिम तिर रातदिन नभनी बारम्बार बैठक बसेर पाँच बुँदे सहमति गरेका तीन प्रमुख दलहरुबीच त्यहि पाँचबुँदेको समीक्षा गर्न बस्ने भनिएको पहिलो बैठक भने बस्नै नसकी स्थगित भएको छ।

पाँचबुँदे गरेको तीन सातापछि बस्न लागेको शीर्ष नेताहरुको संयुक्त बैठक माओवादीले आफ्ना नेताहरुको व्यस्तता देखाउँदै रोक्न आग्रह गरेको बताइएको छ।

राष्ट्रपति रामबरण यादवले तीन दलका शीर्ष नेताहरुलाई सँगै राखेर, समयमै पाँचबुँदे सहमति कार्यान्वयन गर्न सुझाव दिएको भोलीपल्ट शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको तीन शीर्ष दलको बैठक बस्दै नबसी स्थगित भएको हो।

निराश

यसबाट स्वयं नेताहरु नै निराश भएका देखिएको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल भन्छन् संविधान सभाको म्याद थपिएको तीन साता बित्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रगति हुन सकेको छैन ।

पौडेल भन्छन्, “लडाकुहरुको समायोजन कार्यतालिका र संख्या असार पाँचगतेभित्र तय गर्ने भनिए पनि त्यो हुन सकेको छैन, संविधान लेखनमा यस अघि गरिएका निर्णयहरुमा पनि माओवादी पछाडि फर्कने हो कि जस्तो देखिएको छ, बडो गोलमालको स्थिति छ।”

प्रधानमन्त्री झलनाथ खनालका प्रमुख सल्लाहकार प्रकाश ज्वालाका अनुसार बैठक शान्तिप्रक्रिया संविधान निर्माण र यसै महिना भित्र पेश गर्ने भनिएको बजेटमा केन्द्रित गर्ने योजना थियो।

अनुपस्थित

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार महत्वपूर्ण बैठकमा आफ्ना बरिष्ठ नेताहरु अनुपस्थित हुने परिस्थिति आएकाले जानकारी गराइएको हो।

उनी भन्छन्, “शान्ति प्रक्रिया र पाँच बुँदे सहमतिमाथि हुने महत्वपूर्ण बैठकमा हाम्रा केहि महत्वपूर्ण नेताहरु उपस्थित हुन सक्ने भएपछि जानकारी गराएका हौं। संभवत त्यो बैठक भोली बस्छ।”

पाँचबुँदेमा तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सक्ने र संबिधानको पहिलो मस्यौदा तयार पार्ने लगायतका बुँदा थिए।

तर शान्ति प्रक्रिया र संविधान लेखनमा रहेका मतभेद मेटाउन तीन प्रमुख दलहरुबीच राजनीतिक तहमा महत्वपूर्ण निर्णयहरु हुन बाँकी छ।

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, त्यसका लागि आवश्यक ठानिएको संयुक्त बैठक स्थगित हुँदै जाने हो भने थपिएको तीन महिनामा गर्ने भनिएका कामहरु दिन वित्दै जाँदा असंभवप्राय हुने धेरैलाई डर छ।