माओवादी लडाकू समायोजनमा विपक्षी खेमाको ‘सहयोग’ रहने

  • 8 जुन 2011
माओवादी लडाकूहरु तस्वीर कपीराइट .
Image caption शान्ति प्रक्रियाबारे कमाण्डरहरुलाई माओवादी नेताहरुले प्रशिक्षण दिएको बताइएको छ

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पछिल्ला निर्णयको विपक्षमा फरक मत राखिरहेको खेमाका एक नेताले माओवादी लडाकूहरुको समायोजन र पुन:स्थापनाको काममा आफ्नो सहयोग रहने बताएका छन्।

मोहन वैद्य किरण पक्षका अडानका कारण लडाकू समायोजन प्रक्रिया धरापमा पर्न सक्ने कतिपयको आशंका थियो।

माओवादी अध्यक्ष प्रचण्ड निवासमा बुधबार भएको माओवादी लडाकूका कमाण्डरहरुको प्रशिक्षणमा मोहन वैद्य किरण पक्षधर नेताहरुको पनि उपस्थिति थियो।

संविधानसभाको म्याद थप्नुअघि भएको पाँचबुँदे सहमति बारेको भनिएको सो प्रशिक्षणमा एक सय भन्दा बढि माओवादी लडाकूका कमाण्डरहरु सहभागी थिए।

‘फरक मत’

सो प्रशिक्षण सकिएपछि किरण पक्षधर मानिने सचिव सीपी गजुरेलले आफूहरु माओवादी लडाकूहरुको समायोजन र पुन:स्थापनाको विरोधी नभएको बताए।

“प्रशिक्षणमा उहाँहरुको कुरा राम्रो रह्यो। हामीले समायोजनको विरोध गरेको होइनौं, यदि त्यस्को विरोध गर्‍यौं भने त शान्ति प्रक्रियाकै विरोध भइहाल्यो नि।

“हामीले त खाली केन्द्रिय समितिको निर्णय अनुसार काम नभएकोमा फरक मत दर्ज मात्र गराएका हौं।”

विवाद

अध्यक्ष प्रचण्डको दोहोरो सुरक्षा हटिसकेको भएपनि माओवादीभित्रको विवादकाबीच किरण पक्षधर कतिपय नेताहरुको सुरक्षामा खटिएका लडाकूहरु सम्वन्धित शिविर फर्किसकेका छैनन्।

तर उनीहरुलाई पनि छिट्टै फर्काइने नेता गजुरेलको भनाइ छ।

नेता नारायकाजी श्रेष्ठ प्रकाशका अनुसार बुधबारको प्रशिक्षणमा सहभागी माओवादी लडाकूका कमाण्डरहरुले शान्ति पक्रिया अघि बढाउनेबारेका निर्णयहरुको स्वागत गरे।

तालिका

“अनि कमाण्डरहरुले चाँही पार्टीले एक ढिक्का भएर निर्णय गरेमा सम्मानजनक समायोजनको निम्ति हामी तयार छौं भन्नु भयो,” उनले भने।

माओवादी सेना समायोजन विशेष समितिले भदौको दोस्रो सातासम्ममा माओवादी लडाकूहरुको पुन:वर्गीकरण कार्य सिध्याउने कार्यतालिका बाहिर ल्याइसकेको छ।

तर समायोजनको विस्तृत ढाँचा, समायोजन मापदण्ड र स्वैच्छिक अवकासबारेका थुप्रै विषयहरुमा सहमति हुन बाँकी नै छ।