बस्नेतलाई छाड्न गृहको आदेश

  • 16 जुन 2011
गृहमन्त्री महरा
Image caption एमाले नेताहरुसंगको वार्ता पछि गृहमन्त्रीले बस्नेतलाई रिहा गर्न आदेश दिएका थिए

बिराटनगरस्थित पत्रकारमाथि भएको आक्रमणका मु्ख्य आरोपी आफ्नो सम्पर्कमा रहेको बताउने नेकपा एमाले सम्वद्ध युवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेतलाई रिहा गर्न गृह प्रशासनले जिल्ला प्रशासन कार्यालय मोरङलाई आदेश दिएको छ।

प्रहरीले सुनसरीको इटहरी पुगेकाबेला बस्नेतलाई बिहिबार पक्राउ गरी बिराटनगर लगेको थियो।

गृह मन्त्रालयले उनलाई छाड्न आदेश दिइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेश अधिकारीले बताए।

प्रधानमन्त्री झलनाथ खनालको दल एमालेको चर्को दबाबपछि गृहमन्त्री कृष्णबहादुर महराले उनलाई रिहा गर्न आदेश दिएका थिए।

प्रधानमन्त्री निकट नेता योगेश भट्टराई लगायतको टोली र महराबीचको वार्तामा त्यस्तो सहमति भएको हो।

तर बस्नेतले आफ्नो गिरफ्तारीबारे चित्तबुझ्दो जवाफ नपाउँदासम्म रिहा नहुने अडान लिएपछि बिहिबार अवेर रातीसम्म रिहा गर्ने प्रकृया ढिलो भइरहेको प्रजिअ अधिकारीले बीबीसीलाई बताए।

विरोध र झडप

उनको पक्राउको विरोधमा एमाले सम्वद्ध युवाहरुले राजधानी काठमाण्डू लगायत देशका विभिन्न ठाउँमा गरेको प्रदर्शन र बन्दका क्रममा प्रहरीसँग झडपहरु भएका थिए।

प्रदर्शनकारीहरुले कैयौं सवारी साधन तोडफोड र आगजनी समेत गरेका थिए।

बिराटनगरमा स्थानीय प्रशासनले सभा, जुलुस र धर्ना गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेपछि युवासंघले सुनसरीको इटहरीमा विरोध कार्यक्रम गर्ने तयारी गरेको थियो।

सोही सिलसिलामा पत्रकार सम्मेलन गर्न लाग्दा बस्नेतलाई पक्राउ गरिएको युवासंघले आरोप लगाएको ‌थियो।

तर प्रजिअ अधिकारीले युवासंघको कार्यक्रममा असन्तुष्ट पक्षले हस्तक्षेप गर्ने सूचना पाएपछि शान्ति सुरक्षामा असर नपरोस् भनेर उनलाई पक्राउ गरिएको बताए।

स्थानीय प्रशासनले बिहीबार बिहानैदेखि बिराटनगर बजारक्षेत्रमा लगाएको निषेधाज्ञा शुक्रबार बेलुकीसम्म बढाएको जनाएको थियो।