शीर्ष नेताको बैठक निर्णयविहीन

  • 26 जुन 2011
prachanda
Image caption बाँकी दुई महिनामा शान्ति प्रक्रिया टुंग्याउने मार्गचित्र प्रचण्डले दिन सकेनन्

संविधानसभाका तीन प्रमुख दलका शीर्ष नेताहरुबीच आइतबार विहानै भएको भेटघाट र छलफलले अहिले ठप्प रहेको शान्ति प्रक्रिया र संविधान लेखनलाई एक पाइला पनि अगाडि बढाउन सकेन।

माओवादीका शक्तिशाली मानिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको पार्टीमा छताछुल्ल भइरहेको अन्तरविरोधबीच संविधान लेखन र शान्ति प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा एमाले र कांग्रेसका समकक्षी नेताहरुलाई आश्वस्त पार्न सकेनन्।

अलमल

संविधान लेखन र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आवश्यक ठानिएको शीर्ष छलफलमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “दोहोरो सुरक्षा हटाउने कुरा कसैले माने कसैले मानेनन्, शान्ति संझौता विपरित हुने गरी माओवादी भित्रैबाट विचार आइरहेको छ। उनीहरुबीचको अन्तर्विरोध कसरी टुंगिने हो भनेर स्पष्ट नभइसकेकाले हामी पनि अलमलमै छौं।”

छलफलमा एमाले र कांग्रेसका नेताले प्रचण्डको मुख ताकेपछि उनले शान्तिप्रक्रियाप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको बताएका थिए।

नेता पौडेलले भने, “प्रचण्डजीले आफ‍्ना नेताहरुलाई कुरा बुझाएर अनि जानकारी दिने भनेका छन्।”

निराशा

पौडेल निवास बोहोराटारमा भएको छलफलमा पौडेल, प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहभागी थिए।

बैठकपछि एमाले बरिष्ठ नेता माधव कुमार नेपालले संवाददाताहरुसँग भने, “जनतामा निराशा बढेको छ, छिटो भन्दा छिटो शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भनेपछि प्रचण्डले आफ्नो पार्टीमा छलफल गरेर धारणा बनाइ जानकारी दिने भन्नुभएको छ।”

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन थप छलफल आवश्यक रहेको प्रचण्डले बैठकपछि संवाददाताहरुलाई बताएका थिए।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, बाँकी दुइ महिनामा संविधान लेखन र शान्ति प्रक्रियाको भविष्य आफ्नै पार्टीभित्रको विवाद र अरु दललाई आश्वस्त तुल्याउने दोहोरो चेपुवामा परेका प्रचण्डको कार्यक्षमता र दक्षतामा निर्भर हुनेछ।