प्रस्तावित बजेटप्रति कांग्रेस असन्तुष्ट

  • 25 जुन 2011
nepali congress
Image caption बजेटमा आफ्ना पुराना कार्यक्रम समेटन कांग्रेसले आग्रह गरेको छ

तीन वर्षदेखि लगातार अवरुद्ध हुँदै आएको बजेट नियमित प्रस्तुत गर्न सरकारलाई बाटो खुला गरिदिएको प्रमुख विपक्षी नेपाली कांग्रेसले बजे्ट एकलौटी नगर्न र अब बाँकी समयमा बजेट परिमार्जन गर्न सरकारलाई चेतावनी दिएको छ।

शनिबार विहानै डाकिएको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले यस अघि ल्याएका कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेको छ।

सरकारसँग भएका अनौपचारिक बैठकहरुपछि कांग्रेसले संसदमा नियमित बजेट प्रस्तुत गर्न सरकारलाई बाटो खुला गरिदिएको थियो।

असन्तुष्टी

त्यसै बमोजिम सरकारले संसदमा छलफलका लागि विनियोजन विधेयक प्रस्तुत गरेपछि भने प्रमुख विपक्षी कांग्रेस असन्तुष्ट बन्न पुगेको छ।

संसदीय दलको शनिबार बसेको बैठकपछि कांग्रेस संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले भने, “बजेट कुनै सिद्धान्त र प्राथमिकता तय नगरीकन आएको छ। आर्थिक संकटका बेलामा आउनुपर्ने किसिमको पनि छैन। रोजगारीका लागि लगानी मैत्री वातावरणका कुरा एउटा आधुनिक अर्थतन्त्रको आधार कांग्रेसले तयार पारेको थियो त्यो समाप्त पार्ने दिशामा उद्यत रहेको यो अहिलेको दस्तावेज हो।”

यसै महिनाको अन्त्यमा बजेट प्रस्तुत गर्ने गरी सरकारले तयारी गरिरहेको छ।

अब बाँकी समयमा सरकारले बजेट परिमार्जन गर्न र कांग्रेसका मागहरु पनि समेटनुपर्ने माग प्रमुख विपक्षीले राखेको छ।

जिम्मेवारी

प्रवक्ता जोशी भन्छन्, “बजेटले अझ भाषमा लाने स्थिति छ, हाम्रो देशलाई असफल बनाउने स्थिति छ भने त्यसबाट जनतालाई सचेत बनाउने र देशव्यापी रुपमा कमी कमजोरीलाई प्रस्तुत गर्ने जिम्मेबारी पनि नेपाली कांग्रेसको हो। सरकारले गंभिरतापूर्वक लेओस भन्ने हामी चाहन्छौं।”

गरिबसँग विश्वेश्वर, गणेशमान शान्ति अभियान, युवा स्वरोजगार, महिला आय आर्जन जस्ता कांग्रेसले यस अघिका बजेटमा ल्याएका जनमुखी कार्यक्रम समावेश गर्नुपर्ने उसको माग छ।

तीन वर्षदेखि लगातार नियमित बजेट आउन नसक्नु लगायतका कारणले अर्थतन्त्र धराशायी बन्दै गएका बेला प्रमुख विपक्षी कांग्रेसले बजेट ल्याउन दिने भनेर परिपक्व निर्णय गरेको कतिपय अरु पार्टीका बरिष्ठ नेताहरुले समेत टिप्पणी गरेका छन्।

तर उसको पछिल्लो चेतावनीले केही शंका उठेको छ।

त्यसो भएपनि संसदीय दलका प्रवक्ता जोशीले आफ्नो दलको बजेट रोक्ने नीति नभएको बताएका छन्।