संविधान निर्माणबारेका विवाद समाधान गर्ने काम ठप्प

  • 21 जुन 2011
तीन दलका नेताहरु तस्वीर कपीराइट BBC World Service
Image caption विवाद समाधानको निम्ति तीन दलका ठूला नेताहरु सक्रिय हुनु पर्ने देखिन्छ

संविधान निर्माण सम्वन्धी विवाद समाधान गर्न गठित उपसमितिले गठन गरेको कार्यदलको सातदिने म्याद सकिए लगत्तै बस्ने भनिएको उपसमितिको वैठक अनिश्चित बनेको उपसमितिका सदस्यहरुले बताएका छन्।

मुख्यगरि राज्य पुन:संरचना र साशकीय स्वरुपबारेका विवाद समाधानका उपायहरुका बारेमा गृहकार्य गर्न बनाइएको कार्यदलको म्याद सोमबार अन्यौलका माझ सकिएपछि धेरैको ध्यान उपसमितिमा गएको हो।

तर विवादहरुको निप्टारा गर्ने उपसमितिको वैठक भने अब कहिले बस्ने हो त्यस्को निधो भएको छैन।

उपसमितिका एक सदस्य नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकाले भने, “माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आन्तरिक विवाद मिलाएपछि मात्रै अर्को वैठक बस्ने भनेकोले सप्ताहअन्तअघि वैठक बस्ने सम्भावना छैन।”

विवाद

भदौ १४ गतेसम्मका लागि संविधान सभाको म्याद थपिएपछि संविधानको मस्यौदा भदौ १ गतेसम्म र शान्ति पक्रियाका आधारभूत काम भदौ १० गतेसम्म सिध्याउने छुट्टा छुट्टै कार्यतालिकाहरु सार्वजनिक भएका थिए।

तर ती आफैं विवादित बनेका छन्।

नेता पौडेलले शान्ति प्रक्रियाबारे माओवादीले निर्णय गर्ने वितिक्कै संविधान निर्माणबारेका विवाद समाधान हुने आशा व्यक्त गरेपनि उपसमितिका सहयोगी माओवादी नेता देव गुरुङको भनाईले दलहरुबीचका विवादहरु जटील प्रकृतीका भएको संकेत गर्‍यो।

“अब उहाँहरु सेना समायोजन नभईकन संविधान बन्न नदिने कुरा खुल्ला रुपमा गर्दै हुनुहुन्छ। त्यसैले संविधान बनाउने कुरा अड्कीएको हो।”

थाँती

संविधान सभाको संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले राज्य पुन:संरचना, साशकीय स्वरुप, निर्वाचन प्रणालीसंग सम्वन्धित थुप्रै विवादहरुको किनारा लगाउन बाँकी छ।

तर कतिपय वुँदाहरुलाई लिएर माओवादी भित्रै चर्को विवाद छ जस्को समाधान तत्कालै हुने छनक मिलेको छैन।