विवादका कारण माओवादी बैठक अन्योलमा

  • 29 जुन 2011
माओवादीका तीन शीर्ष नेताहरु
Image caption पार्टिभित्र विवाद बढेपछि शान्ति र संविधानको विषय ओझेलमा परेको ठानिएको छ

आन्तरीक विवाद चर्किएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गर्न भनेर तीन दिनका लागि स्थगित गराएको केन्द्रिय समितिको बैठक पाँच दिन वितिसक्दासमेत बस्न नसकेको नेताहरुले जनाएका छन्।

एकातिर पार्टि र सरकारमा जिम्मेवारी हेरफेरबारे उपाध्यक्ष बाबुराम भट्टराईसंग तथा अर्कातिर ती कुराहरुसहित शान्ति र संविधान निर्माणका सिद्धान्तहरुबारे उपाध्यक्ष मोहन वैद्य किरणसंगको बेमेल घट्न नसकेपछि बैठक अन्योलमा परेको उनीहरुको भनाई छ।

चेपुवा

दुईजना उपाध्यक्षको बीचमा चेपिएको देखिएका प्रचण्डले सबै कुरामा छलफल गर्न आफु तयार भएको बताई आएका छन्।

पहिलै कुरा नमिलाई बैठक बोलाएमा झनै गञ्जागोल हुने डर प्रचण्ड पक्षधरमा छ।

त्यसको संकेत गर्दै अध्यक्ष निकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “हामी केन्द्रिय समितिको बैठक हर हालतमा सफल बनाउन चाहन्छौं। केन्द्रिय समितिको बैठकले राष्ट्रिय राजनीतिलाईपनि सही दिशा दिनुछ र पार्टिलाई एकताबद्ध बनाउने तर्फपनि कदम चाल्नुछ। त्यसको निम्ति गृहकार्य भइराख्या छन्। गृहकार्य सकिइसकेका छैनन्। त्यही भएर केही ढिलो भएको हो।”

उपाध्यक्ष किरणसंग खासगरी शान्ति र संविधान निर्माणबारेनै अध्यक्षको कतिपय कुरा मिलेको छैन।

किरण पक्षधरहरुले प्रचण्डले सहमति जनाइसकेको नेपाली सेनाको महानिर्देशनालय अन्तर्गत गरिने भनिएको लडाकूहरुको समायोजनको औचित्य, र तौरतरीका प्रष्ट पार्न भनेका छन्।

सो पक्षका एकजना नेता कुलप्रसाद केसीले भने, “पहिलो कुरा त यसबारे पार्टिले एउटा नीति बनाउनु पर्‍यो। त्यसपछि एकल वा मिश्रित कुन प्रकारको समायोजन भन्ने मोडालिटि तय हुनुपर्‍यो। साथै कसको नियन्त्रणमा रहने र कस्तो कार्यादेश हुने भन्नेपनि प्रष्ट हुनुपर्छ।”

दबाब

ती विषयहरुमा प्रचण्डको जस्तै धारणा राख्ने अर्का उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरहरुले चाहीं सरकार र पार्टिको संगठनभित्रका जिम्मेवारी हेरफेर गर्नको लागि अध्यक्षमाथि दबाब दिन उपाध्यक्ष किरण पक्षधरहरुसंग हातेमालो गरेका छन्।

सरकारलाई समावेशी स्वरुप दिन भन्दै किरण र भट्टराई पक्षधरहरुले गरेको सभासदहरुको हस्ताक्षर संकलन अभियानले अध्यक्ष प्रचण्डको मनमा चीसो पसेको ठानिएको छ।

राजनीतिक विषयमा दुई विपरित कोणमा रहेका भनिएका भट्टराई र किरण पक्षबीचको यो मिलाप स्वाभाविक भएको भट्टराई समूहका एकजना नेता नवराज सुवेदीले बताए।

“सांगठनिक कार्यप्रणाली र कार्यविभाजनको विषयमा कमरेड किरण र बाबुरामबीच समान धारणा रहेको कुरा यथार्थ हो।”

चिन्ता

भदौ १४ भित्र संविधानको पहिलो खाका र शान्ति प्रक्रियाको मूलभूत कुराहरु टुंग्याउन माओवादीले लिने निर्णय महत्वपूर्ण हुने हुँदा उसको केन्द्रिय समितिको बैठक बस्न भएको ढिलाईले संविधानसभाको थपिएको कार्यकालको सफलताप्रतिको चिन्ता बढेको छ।

पछिल्लोपटक प्रधानमन्त्री तथा राजनीतिक दलका नेताहरुसंगको भेटघाटका क्रममा प्रचण्डले आफु शान्ति र संविधान निर्माणको लाइनबाट पछि नहट्ने बताउने गरेका छन्।

तर पार्टिभित्रै बढ्दै गएको चर्को विवादका कारण उनको सो भनाई कार्यान्वयन होला भनेर आशा गर्न गाह्रो हुने कतिपय विश्लेषकहरु बताउँछन्।