सरकारले शान्ति प्रक्रिया र संविधान लेखन जारी राख्ने

  • 3 जुलाई 2011
Image caption संविधान लेखन र शान्ति प्रक्रिया टुंग्याउन अहोरात्र खट्नुपर्ने राष्ट्रपतिले बताएका छन्

अन्यौलको भूमरीमा परेको संविधान बनाउने काम सरकारले जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘विभिन्न बाधा व्यवधान र जटिलता भएपनि संविधान निर्माण जारी राख्ने’ सरकारको प्रतिबद्धता आइतबार राष्ट्रपति रामबरण यादवले संसदमा घोषणा गरेका हुन् ।

संविधान सभाको म्याद तीन महिनाका लागि थप्दा गरिएको पाँच बुँदे सहमति कार्यान्वयन हुन नसकेको पृष्ठभूमीमा सरकारले संविधान निर्माण कार्य जारी राख्ने दोहोर्‍याएको हो।

संविधान लेखन र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन भन्दै थपिएको संविधान सभाको तीन महिने कार्यकाल घर्किँदै गर्दा आएको वार्षिक नीति तथा कार्यक्रममा सरकारले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन विस्तृत शान्ति संझौता र विभिन्न समुदायसँग गरेका प्रतिबद्धतालाई पनि दोहोर्‍याएको छ।

ध्यान केन्द्रित

सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति यादवले राजनीतिक दलहरुले आफ्नो सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गरी खट्नुपरेको बताएका छन्।

संविधान लेखनसँग जोडिएको सबभन्दा महत्वपूर्ण कुरा शान्ति प्रक्रियालाई पाँचबुँदे सहमति बमोजिम टुंग्याइने सरकारले जनाएको छ।

पाँचबुँदेमा तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने भनिएको थियो। त्यसका लागि माओवादी लडाकुको व्यवस्थापन गर्ने विशेष समितिले देखाएको सक्रियता पछिल्लो समयमा ठप्प भएपनि सरकारले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने काम पुराना सहमतिहरुमाथि आधारित हुने दोहोर्‍याएको छ।

जिम्मेवार

सरकारको नीति कार्यक्रम दस्तावेजमा भनिएको छ, “शान्ति प्रतिको नेपाली जनताको चाहनालाई निस्वार्थ पुरा गर्न विस्तृत शान्ति संझौता लगायत यस अघि विभिन्न समुह र दलहरुसँग भएका सहमति र समझदारीलाई इमान्दारीसाथ पुरा गर्न सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ।”

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, पहिलो दुइवर्ष त्यसपछि थपिएको एक वर्ष र तेश्रो पटक तय गरिएको तीन महिने कार्यकालको ठूलो समय ठोस उपलब्धी बिना सकिएकाले सरकारको पछिल्लो प्रतिबद्धताप्रति पनि कतिपयलाई आशंका छ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले भने सरकारको नीति तथा कार्यक्रमलाई गफको दस्तावेज भनेको छ।