अस्थिरताको दुष्चक्रमा परेको अर्थतन्त्र

  • 8 जुलाई 2011
अर्थ मन्त्रालय
Image caption मन्त्रालयको आर्थिक सर्वेक्षणले अर्थतन्त्रको कहालीलाग्दो तस्वीर प्रस्तुत गरेको छ

गएको केही वर्षयता झाँगिएको राजनीतिक अस्थिरताले अर्थतन्त्रमा गम्भीर प्रभाव परेका खबरहरु त निकै आएका थिए। अब त्यसका प्रष्ट प्रमाणहरु देखिन थालेका छन्।

वर्षैपिच्छे घट्दै गइरहेको आर्थिक वृद्धि यसपाली पोहोर पह्रार भन्दा खस्किएको छ।

आगामी वर्षको बजेटको ठिक अगाडि सरकारले विहिबार संसदमा पेश गरेको यो वर्षको आर्थिक सर्वेक्षणले कहालीलाग्दो तस्वीर कोरेको छ।

कछुवा गति

छिमेकी भारत र चीन कोही हात्तीझैं लम्किंदै छन त कोही घोडाझैं चम्किंदै छन्।

उनीहरु वर्षमा १० प्रतिशतभन्दा माथिको वृद्धि गर्दै गत दशकमा गरीबी स्वात्तै घटाउन सफल भएको बेला नेपाल कछुवा गतिमा अड्किएको छ।

दक्षिण एशियाली क्षेत्रभरिमै पाकिस्तानबाहेक अरु सबै देशको आर्थिक वृद्धि नेपालको साढे तीन प्रतिशतभन्दा निकै बढि छ।

यो सुस्त वृद्धि वर्तमान अर्थतन्त्रको सबभन्दा ठूलो चिन्ताको विषय मान्ने धेरै छन्।

“यो जनसंख्या वृद्धि दरभन्दा सीमान्तमात्रै बढि छ। यथार्थमा व्यक्तिको आय त केवल १.३ प्रतिशतले बढेको छ। प्रतिव्यक्ति आय नबढिकन गरीबी घट्दैन,” पूर्व अर्थ सचिव रामेश्वर खनालले बताए।

चौपट व्यापार

उक्त वृद्धिमध्येपनि कृषि बाहेक अर्थात उत्पादनमूलक उद्योगधन्दाको वृद्धिदर त झनै खराब छ।

त्यसको सोझो असर देशको व्यापारमा परेको छ।

गएका केही वर्ष यता निकै चिन्ताजनक रुपमा बढेको आयात र बढ्न नसकेको निर्यातको तस्वीर यसपाली त कहालीलाग्दो बनेको छ।

“मुसुरोको दाल देखि लिएर जुटका सामान, गलैंचादेखि लिएर डाबरले उत्पादन गरेका सामान भएभरको कूल निर्यातबाट भएको आम्दानीले एउटा वस्तुको मात्र आयात गर्नपनि नपुग्ने स्थिति आइपुगेको छ,” अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार केशव आचार्यले भने।

दश महिनाको पछिल्लो तथ्यांक अनुसार पचास अर्ब रुपियाँ चानचुनको कूल निर्यातभन्दा तेलको आयातमै बढि खर्च भएको छ।

यही अवधिमा देशले तेल सहित सवा तीन खर्ब रुपियाँको सामान आयात गर्‍यो।

आयात गरिएका सामानमध्ये देशको उत्पादन मेरुदण्डलाई गुन लाउने खालका मेशिनरी, उपकरणका साटो सुन, तेल र मोटरकार जस्ता उपभोगमुखी सामानको भाग निकै ठूलो रह्यो।

रोगले च्याप्यो

आयात र निर्यातको यत्रो फरकलाई धान्न यतिञ्जेल रामवाण बनिरहेको रेमिटेन्स आम्दानीको वृद्धिमा ब्रेक लागेपछि गएको डेढ वर्षयता शोधनान्तर घाटापनि भनिने भुक्तानी सन्तुलन घाटाको रोगले अर्थतन्त्रलाई च्यापेको छ।

रोगी शरीरमा विभिन्न सङ्क्रमणको खतरा बढेजस्तै बिमारी अर्थतन्त्रमाथि निकै जटिलताहरु थपिएका छन्।

केही साता अगाडि नेपाल राष्ट्र बैंक आफ्नो पाँच दशकको इतिहासमा पहिलोपल्ट अन्तिम ऋणदाताको भूमिका अपनाउन वाध्य भयो।

तरलताको संकट चर्किएको भनिएको बेला एउटा विकास बैंकले निक्षेपकर्ताहरुलाई पैसा दिन नसकेर हात उठाएपछि केन्द्रिय बैंकले त्यस्तो भ‍ूमिका खेल्नुपर्‍यो।

अर्कोतिर अर्थतन्त्रको प्रमुख मानक मानिने पूँजीबजारको बेहाल छ।

तीन वर्ष अगाडि झण्डै बाह्र सय पुगेको नेप्से इन्डेक्स हाल तीन सयको हाराहारीमा लडखडाइराखेको छ। शेयर लगानीकर्ताहरुको अर्बौं रुपियाँ डुबेको छ।

उर्जा संकट, श्रम अस्थिरता जस्ता विषयहरुले उत्तिकै पिरोलेको छ।

जे होस् अझैपनि राजनीतिक स्थिरता आयो भने आर्थिक वातावरणमा नाटकीय सुधार आउने सम्भावनाचाहीं जिउँदै छ।

अस्थिरता र असुरक्षाका कारण जग्गा, सुन वा विदेश पलायनमा खर्चिएका पूँजी, उद्योगधन्दा, कलकारखाना एवं जलविद्युत परियोजनाहरुमा लगानी हुन सक्छ। खाँचो छ त केवल सहज वातावरण निर्माणको।

अर्थात अर्थतन्त्र सपार्ने हो भने अर्थतन्त्रभन्दा बाहिरको वातावरण पहिले सुध्रिनु जरुरी छ।