माओवादीभित्रको अन्तरविरोध कायमै

  • 8 जुलाई 2011
Image caption कार्यविभाजन गर्नु अघि थप गृहकार्य आवश्यक रहेको माओवादीले जनाएको छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको नेता कुनै हालतमा नछोड्ने उनी पक्षधर नेताहरुले बताएका छन्।

अध्यक्ष र दुईजना उपाध्यक्षबीच एक आपसमा शक्ति बाँडने सहमति पदाधिकारी बैठकमा गरेको भोलिपल्ट शुक्रबार डाकिएको स्थायी समिति बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको नेता कुनै हालतमा नछोड्ने अडान व्यक्त गरेका बताइएको छ।

बिहिबार प्रचण्ड निवासमा बसेको पदाधिकारीको बैठकमा आपसमा जिम्मेवारी बाँडफाँड गर्ने सहमति बनेको भनिएको थियो।

प्रचण्डलाई सिंगो पार्टी, बाबुराम भट्टराईलाई सदन र सरकार तथा मोहन बैद्यलाई संगठनको जिम्मेवारी दिनेगरी सहमति बनेको बताइएको थियो।

गृहकार्य

तर प्रचण्डले संसदीय दलको नेता नछोड्ने लगायत कार्यविभाजन गर्नु अघि थप गृहकार्य आवश्यक देखिएको बताएपछि बैठक टुंगिएको थियो।

प्रचण्ड पक्षधर भनेर चिनिएका एकजना नेता हरिबोल गजुरेलले भने, “अध्यक्षलाई पार्टीमा मात्रै सीमित राखेर पार्टी बलियो हुन्न, शान्ति प्रक्रिया नटुंगुन्जेल उहाँलाई संसदीय दलको नेताबाट हटाउने कुरा कल्पना पनि गर्न सकिन्न।”

एक व्यक्ति एक पद हुनुपर्ने र पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्ने माग पार्टीमा चर्कोगरी उठ्न थालेपछि सरकार, संसद, पार्टी र सेनामा एकलौटी भूमिकामा रहेका अध्यक्ष प्रचण्डले शक्ति बाँडफाँड गर्न हिच्किचाइरहेको माओवादी नेताहरुको बुझाइ रहेको छ।

निष्कर्षविहीन

कार्यविभाजनबारे कुरा नमिलेकैले शुक्रबारको बैठक विना निष्कर्ष टुंगिएको थियो।

बाबुराम भट्टराई पक्षधर भनेर चिनिएका एकजना नेता देवेन्द्र पौडेलले भने, “कार्यविभाजनमै कुरा मिलिरहेको छैन।”

बाबुराम पक्षधर अर्का एकजना नेताले पदाधिकारी बैठकको निर्णयबाट प्रचण्ड पछाडि हट्न चाहेकाले कुरा मिल्न नसकेको बताए।

गजुरेलचाहिँ फुटको सँघारमा पुगिसकेको पार्टी संहाल्न समय आवश्यक पर्ने बताउँछन्।

माओवादी नेताहरुको अन्तरसंघर्ष चर्किरहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले शुक्रबारै राजधानीमा गरेको एउटा कार्यक्रममा कांग्रेसका बरिष्ठ नेताहरुले माओवादीको अन्तरविरोधका कारण शान्ति प्रक्रिया र संविधान लेखन ठप्प भएको आरोप लगाएका थिए।