समयमै बजेट आएकाले राजश्व बृद्धि निश्चित: अर्थमन्त्री

  • 16 जुलाई 2011
तस्वीर कपीराइट BBC World Service
Image caption अर्थमन्त्रीले समयमै बजेट आएकाले राजश्व संकलनमा अपेक्षित वृद्धि हुने बताएका छन्

प्रमुख विपक्षी नेपाली कांग्रेसको गंभीर आशंका रहे पनि अर्थमन्त्री भरतमोहन अधिकारीले २० प्रतिशत थप राजश्व उठ्ने वातावरण बनिरहेको बताएका छन्।

संसदमा शनिबार बोल्दै उनले समयमै बजेट ल्याउन सकेकाले देशमा नियमित आर्थिक गतिविधि हुने र त्यसले राजश्व बढाउने बताएका हुन्।

बजेट संसदमा पेश नहुँदै बाहिर चुहावट भएको विषयमा भने अर्थमन्त्री मौन रहे।

हिजो झण्डै चार खर्बको बजेट पेश गरेका अर्थमन्त्रीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा विगतमा समयमा बजेट ल्याउन नसकेकाले अर्थतन्त्र असाध्यै संकुचित बन्न पुगेको बताए।

उनले बजेटका प्रमुख विषयमा सबै दलका नेताहरुसँग सहमति गरेको उल्लेख गरे।

आधार

उनले भने, “पोहोर चार महिनासम्म बजेट आउन सकेन यसपटक समयमै आएको छ। लगानी बढ्ने अपेक्षा छ, आर्थिक गतिविधि हुँदा अर्थतन्त्रलाई टेवा पुग्ने भएकाले २० प्रतिशत राजश्व वृद्धि सजिलै हुन्छ।”

अर्थमन्त्रीले विदेशीहरु तीन सय अर्ब रुपैया श्रृण र सहायता दिन तयार रहेको तर राज्यको क्षमता नभएर १ सय अर्ब मात्र लिने निर्णय गरेको, जलविद्युतमा लगानी गर्न अमेरिका रुस चिन र भारत तयार रहेको, नक्कली भ्याट बील बनाउनेलाई कडा कारवाही गर्न मतियारलाई समेत कारवाही गर्ने नीति ल्याइएकाले राजश्व बढ्ने आधार रहेको बताएका थिए।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सभासद डा रामशरण महतले भने अर्थमन्त्रीको जवाफ पछि पनि दोहोर्‍याएर सरकारी अनुमान अनुसार राजश्व उठ्ने आधार नरहेको भन्दै स्पष्टीकरण मागे।

“यसपटक रियल स्टेटमा लगानी बढ्दैन, इम्पोर्ट पनि बढ्दैन । त्यसैले कसरी राजश्व २० प्रतिशत बढ्न सक्छ?” उनले प्रश्न गरे।

मौन

संसदमा पेश गर्नु अघि नै बजेट सार्वजनिक भएकोबारे अर्थमन्त्री शनिबार मौन रहे।

संसदमा पेश हुनु अघि नै निजी अखबार र सरकारी वेवसाइट मार्फत बजेट सार्वजनिक गरेर राज्यको गोपनीयता भंग गराएको र संसदको मानहानी गरेको भन्ने विपक्षीहरुको विरोधबीच शुक्रबार नै छानबीन समिति गठन भएको थियो।

आपत्ति

प्रमुख विपक्षी नेपाली कांग्रेसले कडा आपत्ति जनाउँदै अर्थमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागेको थियो।

छानबीन समितिको शनिबार बसेको पहिलो बैठकमा अर्थमन्त्री भरतमोहन अधिकारी र अर्थसचिव कृष्णहरी बाँसकोटासँग स्पष्टीकरण लिने निर्णय गरेको विभिन्न समाचारहरुमा जनाइएको छ।

यद्यपि छानबीन समितिका संयोजक तथा नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे लगायत अन्य कतिपय सदस्यहरुले छानविन पुरा भएर संसदलाई नबुझाएसम्म आफुहरु नबोल्ने बताए।

समितिले आगामी साउन छ गतेभित्र प्रतिवेदन तयार पारिसक्नुपर्ने समयसीमा पाएको छ।