पार्टीमा प्रचण्ड अल्पमतमा परेको दावी

  • 18 जुलाई 2011
माओवादी नेतृत्व तह
Image caption अध्यक्ष प्रचण्ड विरुद्ध उपाध्यक्षद्वय किरण र बाबुराम भट्टराई एक देखिएका छन्

एकीकृत नेकपा माओवादीका उपाध्यक्षद्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईपक्षीय नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केन्द्रिय समितिमा अल्पमतमा परेको दावी गरेका छन्।

जिम्मेवारी बाँडफाँड लगायत आफुहरुले उठाएका मुद्दाको समर्थनमा बहुमत सदस्यहरुले हस्ताक्षर गरेको बताउँदै उनीहरुले त्यस्तो दावी गरेका हुन्।

किरण-भट्टराई गठबन्धनले केही पहिले देखि नै केन्द्रिय सदस्यको हस्ताक्षर संकलन थाले पनि आफ्नै खेमाका केहीले साथ नदिँदा बहुमत न पुगेको बताएका थिए।

पुग्यो

तर सोमवार बीबीसीसँग कुरा गर्दै भट्टराई निकट पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले भने, "हाम्रा मुद्दामा अरु पनि धेरै सदस्यले समर्थन जनाउनु भएको छ। लिखित बहुमत पनि पुगेको छ।"

केन्द्रिय समितिका एकको मृत्यु भएको र दुईजना निलम्बनमा रहेको बताउँदै नाम खुलाउन नचाहने अर्का एक नेताले ७४ जनाले हस्ताक्षर गरेको दावी गरेका छन्।

किरणपक्षीय नेता सीपी गजुरेलले महासचिव रामबहादुर थापाले समेत हस्ताक्षर गरेको जानकारी दिए पनि संख्या खुलाएनन्।

उनले भने, "बहुमत पुगिसक्यो भन्ने कुरा मैले हिंजै बेलुकी थाहा पाएको हुँ। तर ठ्याक्कै यत्ति नै संख्या भनेर त अहिले नै भन्न सक्दिनं।"

कारण

ठोस राजनीतिक कार्ययोजना, कार्यविभाजन, आर्थिक पारदर्शिता र सरकारमा समानुपातिक सहभागिताको मुद्दामा बल पुर्‍याउन हस्ताक्षर संकलन गरिएको गठबन्धनका नेताहरुको भनाई छ।

केन्द्रिय समितिमा प्रचण्डले आइतबार पेश गरेको प्रस्तावमा किरण-भट्टराई गठबन्धन असन्तुष्ट देखिएको छ।

सचिव गुजुरेलले भने, "हामीले उठाएका विषय सम्वोधन नभए अध्यक्षलाई हस्ताक्षर बुझाउँछौं।"

मन्त्रिमण्डल समावेशी बनाउन दबाब दिने उद्देश्यले सो गठबन्धनले तीन हप्ता पहिले केन्द्रिय समिति बैठक शुरु हुनै लाग्दा प्रचण्डलाई १५९ जना सभासदको सही बुझाएको थियो।

तर प्रचण्डपक्षीय नेताहरुले केन्द्रिय समितिमा त के संसदीय दलमा समेत प्रचण्ड बहुमतमा रहेको दावी गर्दै आएका छन्।

अल्पमतमा परेको हल्लालाई उनीहरुले झुठो प्रचारवाजीको संज्ञा दिने गरेका छन्।