लुम्बिनी विकासमा नौलो चासो

  • 19 जुलाई 2011
नेपाल, भारत र चीनको नक्शा
Image caption भारत सीमा नजिकैको लुम्बिनीमा चिनियाँ संस्थाले लगानी गर्ने कुरा अनौठो मानिएको छ

बुध्दको जन्मस्थलको विकास गर्न अगाडि सारिएको भनिएको दुई खर्ब रुपियाँको महत्वकाँक्षी प्रस्तावले नयाँ कौतुहल जन्माएको छ।

एउटा चिनियाँ गैरसरकारी संस्थाले लुम्बिनीको विकास गर्न अर्बौं रुपियाँको परियोजना अगाडि बढाएको भन्ने समाचार राष्ट्रिय र अन्तर्राष्ट्रिय माध्यमबाट सार्वजनिक भएपछि यसले धेरैमा उत्सुकता जगाएको छ। बुध्दको जन्मस्थललाई मुसलमानहरुको मक्का र इसाईहरुको भ्याटिकन जस्तै अन्तर्राष्ट्रिय तीर्थस्थलका रुपमा विकास गर्ने भनिएको यो परियोजनाका बारे विस्तृत विवरणहरु सार्वजनिक हुन बाँकी छ। तर दक्षिण एशियाको मुख्य क्षेत्रीय शक्ति भारतको खुल्ला सीमा नजिकै एउटा विशाल परियोजनालाई भारतको प्रतिद्वन्दी उदीयमान विश्वशक्ति चीनको गैरसरकारी संस्थाले अगाडि बढाएको भन्ने समाचार आफैले धेरै अर्थ राख्छ।

‘अनभिज्ञता’

एक महिना अघि पहिलो पटक प्रतिष्ठित पश्चिमी संचार माध्यमहरुबाट सार्वजनिक भएको समाचार अनुसार चिनियाँ गैरसरकारी संस्था एशिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेसन फाउण्डेसनले तीन अर्ब डलर अर्थात दुई खर्ब रुपियाँ भन्दा बढीको लागतमा लुम्बिनीको विकास गर्न कम्मर कस्न लागेको हो। नेपालको वार्षिक बजेटको आधाभन्दा बढी रकम खर्च हुने भनिएको परियोजनाबारे चीन सरकारको आधिकारिक टिप्पणी आइसकेको छैन। नेपालका अधिकारीहरुले त आफुलाई केही थाहा नभएको बताएका छन्।

तर दुवै देशको सरकारी स्तरबाट अझै आधिकारिक पुष्टी भइनसकेको परियोजनामा सघाउन राष्ट्रसंघीय औद्योगिक संगठन युनिडोले सहमति जनाई उक्त गैरसरकारी संस्थासंग चीनको राजधानीमा संझौता समेत गरेको समाचार आएपछि यसबारे कौतुहल अरु बढेको छ। संभवत यो कौतुहल मेटिने गरी सूचनाहरु ढीलोचाँडो सार्वजनिक हुनेनै छन्।

तर नेपालमा आ आफ्नो सुरक्षा चासोलाई सबभन्दा बढी महत्व दिने गरेका दुई ठूला छिमेकीहरुको संवेदनशीलता केही वर्ष यता निक्कै बढेको सबैले प्रष्ट अनुभव गरेका बेला आएको यो समाचारले नयाँ प्रश्नहरु जन्माउने छ। महाशक्तिका रुपमा उदाउँदो चीनले एउटा गैरसरकारी संस्थामार्फत आफ्नो क्षेत्रीय प्रतिद्वन्दी भारतको नेपालसंगको सीमाना नजिकै लुम्बिनीमा यत्रो ठूलो परियोजना अगाडि बढाउन खोजेको हो भने त्यसको महत्व आर्थिक, धार्मिक र पर्यटकीय घेरामा मात्र सीमित हुने कुरामा धेरैले शंका गर्न सक्छन।

प्रतिन्द्वन्दिता

त्यस्तै आफ्नो खुल्ला सीमानासंग जोडिएको उक्त ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल सहितको परियोजना अगाडि बढाउन पारंपरिक प्रतिद्वन्दी चीनको गैरसरकारी संस्थाले लिएको भनिएको पहलले भारतको कान निक्कै ठाडो पार्ने छ। कुरा जे भएपनि ४० वर्षभन्दा अघि तत्कालीन महासचिव उ थान्तको भ्रमण पछि राष्ट्रसंघको पहलमा धेरै वर्ष अघि शुरु भएको तर अति सुस्त रहेको लुम्बिनी विकासको गति अगाडि बढाउन छुट्टै पहल गरिएको भनिएको समचारले नेपालमा बढ्दो अन्तर्राष्ट्रिय चासो र प्रतिन्द्वन्दितालाई अरु छर्लंग पारेको ठानिएको छ।