'क्याबिनेट मन्त्री थप्न प्रधानमन्त्री तयार'

  • 27 जुलाई 2011
माओवादी-एमाले शीर्ष बैठक तस्वीर कपीराइट .
Image caption माओवादीले आफ‍ना नयाँ मन्त्रीलाई सपथ गराउन प्रधानमन्त्रीलाई थप समय दिएको छ

प्रधानमन्त्री झलनाथ खनाल माओवादीले सिफारिस गरेका क्याबिनेट मन्त्रीलाई मात्र नियुक्त गर्न तयार भएको उनका एकजना सहयोगीले जनाएका छन्।

उनका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाका अनुसार त्यसको निम्ति पनि शान्ति प्रकृया ठोस रुपमा अगाडि बढाउन माओवादी तयार हुनु पर्छ।

मन्त्रिमण्डल पुनर्गठनको पक्ष र विपक्षमा उभिएका माओवादी र एमालेले आआफ्नो अडानमा पुनर्विचार गर्न एकअर्कालाई बिहिबार बिहानसम्मको म्याद दिएका थिए।

माओवादी स्थाई समिति बैठकले प्रधानमन्त्रीलाई केही समय थपी दिएको छ।

प्रतिवद्धता

प्रवक्ता दीनानाथ शर्माका अनुसार आफू सकारात्मक भएको बताउँदै प्रधानमन्त्रीले आफ्नो पार्टीको निर्णय पुनर्विचार गर्न समय मागेपछि माओवादीले त्यसो गरेको हो।

तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले भने, "माओवादीले शान्ति प्रकृया ठोस रुपमा बढाउने प्रतिवद्धता जनाए क्याविनेट मन्त्री थप्न प्रधानमन्त्री सकारात्मक हुनुह्न्छ।"

शान्ति प्रकृयाबारेको प्रतिवद्धता सेना समायोजन विशेष समिति मार्फत प्रकट हुने गरी आउनु पर्ने बताए पनि उनले त्यसबारे थप प्रष्ट पारेनन्।

बरु राज्यमन्त्री नथप्न माओवादी राजी भइसकेको उनको दावी थियो।

ज्वालाले भने, "मंगलबार नै मन्त्रीलाई मात्र नियुक्त गर्न माओवादी नेताले आग्रह गरेकाले २४ जनाको प्रश्न टुंगिसक्यो।"

खण्डन

माओवादी प्रवक्ता शर्माले ज्वालाको दावीको खण्डन गरेका छन्।

उनले भने, "चरण-चरणमा सपथ खुवाए पनि राज्यमन्त्रीलाई पनि नियुक्त गर्नु पर्नेमा पार्टी अडिग छ।"

तर मन्त्रिमण्डल पुनर्गठन नगर्ने निर्णयमा एमालेले पुनर्विचार गरेको छैन।

एमालेकै केही नेताहरुले त्यसो गर्नु परे बरु प्रधानमन्त्रीले राजिनामा दिने बताइरहेका छन् भने आफ‍नो सिफारिस लागू नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको चेतावनी छ।