मन्त्रिपरिषद हेरफेर गर्ने प्रस्ताव एमाले स्थायी समितिद्वारा पुन: अस्वीकार

  • 28 जुलाई 2011
प्रचण्ड र झलनाथ खनाल तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री खनाल यतिखेर चौतर्फी दबाबमा छन्

एकीकृत नेकपा माओवादीले प्रस्ताव गरेका नयाँ मन्त्रीहरुलाई मन्त्रिपरिषदमा सामेल गराउने प्रधानमन्त्री झलनाथ खनालको प्रयासलाई उनको दल नेकपा एमालेको स्थायी समितिले पुन: अस्वीकार गरिदिएको छ।

त्यसअघि बिहिबारै प्रधानमन्त्री खनाल र माओवादी अध्यक्षबीच मन्त्रिपरिषदमा माओवादीका केही सदस्यहरु सामेल गराउनेबारे सहमति भएको चर्चा चलेको थियो।

तर सत्ताधारी एमालेको स्थायी समितिले त्यसो गर्न नहुने आफ्नो पुरानो अडान नछोडेपछि माओवादीका तर्फबाट मन्त्रीहरुको नयाँ टोलीलाई सरकारमा सामेल गराउने प्रस्ताव अनिश्चित भएको हो।

प्रस्तावित मन्त्रीहरुको नयाँ टोलीलाई तत्काल सपथ ग्रहण गराउन माओवादीको दबाब खेपिरहेका प्रधानमन्त्री खनाललाई बिहिबारै बसेको उनको आफ्नै दल एमालेको स्थायी समितिको वैठकले साथ दिएन।

गम्भीर

त्यसबारे एमाले सचिव युवराज ज्ञावालीले भने, “सपथ ग्रहण हुन पनि सक्छ नहुन पनि सक्छ, मुख्य कुरा माओवादी शान्ति र संविधानप्रति गम्भीर हुनुपर्‍यो।”

आफ्नो दलको तर्फबाट मन्त्रिमण्डलमा सहभागी गराइएको पुरानो टोलीलाई फिर्ता बोलाएको माओवादीले शुरुमा २४ जनाको नयाँ टोली पठाउने प्रस्ताव गरेको थियो।

तर मन्त्रिमण्डलमा गरिन लागेको हेरफेरबारे तीव्र आलोचनाहरु भएपछि उसले त्यसलाई घटाएर १२ जनामा झारेको थियो।

तर उनीहरुलाई पनि सपथ ग्रहण नगराउन प्रधानमन्त्रीलाई आफ्नै दलभित्रबाट दबाब बढेपछि खनाल बिलखबन्दमा परेका छन्।

दबाबहरु

प्रधानमन्त्रीमाथि बिहिबार साँझ अबेरसम्म प्रमुख सत्तासाझेदार माओवादीका वरिष्ठ नेताहरुले दबाब जारी नै राखेका थिए।

प्रधानमन्त्रीलाई मनाउन उनको निवास बालुवाटार पुगेका माओवादी नेताहरु निकै अबेरसम्म छलफलमा व्यस्त थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा छलफलहरुले सकारात्मक परिणाम दिने कुरामा आशावादी सुनिए।

उनले भने, “आफ्नो विवाद मिलाएको माओवादीले अब थाँती काम सक्ने लक्षण देखायो भने समाधान हुनसक्छ।”

राजिनामा

प्रधानमन्त्री खनाल यतिखेर चौतर्फी दबाबमा छन्।

अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीपरिषदमा गरिन लागेको हेरफेरको विरोध गर्दै प्रधानमन्त्रीको राजिनामाको माग गरिरहेको छ।

जेठ १४ गते मध्यराती भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको राजिनामा आउनु पर्ने माँग चर्काउँदै कांग्रेसले बिहिबार पनि संसद अवरुद्ध पारिदियो।