एकिकृत माओवादीद्वारा सरकारबाट बांकी मन्त्री फिर्ता

  • 30 जुलाई 2011
वरिष्ठ माओवादी नेताहरू
Image caption माओवादी नेताहरूले अरु कडा विकल्पबारे विचार गरिने बताएका छन्

एकिकृत नेकपा माओवादीले, सरकारमा रहेका आफ्ना बांकी मन्त्रीहरुलाई शनिबारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

आफ्नो सिफारिश अनुसार प्रधानमन्त्री झलनाथ खनालले मन्त्रीमण्डल पुनर्गठन नगरेकोमा आक्रोश व्यक्त गर्दै उसले त्यस्तो निर्णय लिएको हो।

सरकारमा पठाइएका प्रस्तावित नयां मन्त्रीहरुको शपथ ग्रहण हुन नसकेको विषयमा शनिबार बसेको स्थायी समिति बैठकमा आइतबारसम्म पर्खने सहमति भएको माओवादी प्रवक्ताले जनाएका छन्।

त्यसपछि पनि मन्त्रीहरुलाई शपथ नगराईए अरु कडा विकल्पका बारे विचार गरिने उनले बताए।

तर ती विकल्पहरु के हुनसक्छन् भन्ने चाहिं उनले स्पष्ट खुलाएनन्।

प्रवक्ता दीनानाथ शर्माले भने –“यस विषयमा प्रधानमन्त्री झलनाथ खनालसंग प्रत्यक्ष भेट र टेलिफोन मार्फत बारम्बार छलफल भएको तर परिणाम नदेखिएकोले बांकी मन्त्रीहरुलाई फिर्ता बोलाउनु परेको हो।“

तर प्रधानमन्त्री झलनाथ खनालले माओवादीको निर्णय मान्ने संकेत दिएका छैनन्।

उनले दलहरुबीचको पांचबुंदे सहमतिको मर्म संग मिल्ने र सबैलाई मान्य हुने विकल्प प्रस्तुत गर्न एकिकृत माओवादीलाई आग्रह गरिरहेका प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार सूर्य थापाले बताए।

उनले भने- “ब्ल्याक एण्ड ह्वाइटमा शपथ ग्रहण हुन्छ वा हुन्न त प्रधानमन्त्रीले भन्नु भएको छैन तर मन्त्रीमण्डल पुनर्गठनबाट के हासिल हुन्छ भन्नेबारेमा माओवादी स्पष्ट भएर आउनुपर्छ भन्ने उहांको धारणा हो।“

पुनर्गठन नगर्न दबाब

प्रधानमन्त्रीलाई आफ्नै पार्टी भित्रको विपक्षी खेमाका नेताहरुद्वारा समेत मन्त्रीमण्डल पुनर्गठन नगर्न दबाब परिरहेको छ।

उनलाई बरु राजीनामा गरी राष्ट्रीय सरकारको लागि मार्ग प्रशस्त गर्नुपर्ने सुझावहरु शानिबार दिनभर पनि राजधानीका विभिन्न स्थानमा भएका सार्वजनिक कार्यक्रमहरु मार्फत ती नेताहरुले दिएका थिए।

यसअघि, शानिबार विहानसम्म नयां मन्त्रीमण्डललाई शपथ गराउन एकिकृत माओवादीले प्रधानमन्त्रीलाई चेतावनी दिएका भन्ने समाचारहरु आएका थिए।

प्रधानमन्त्रीले हुन्न नभनेकाले नै आफूहरु अहिलेसम्म प्रतिक्षारत रहेको माओवादी प्रवक्ता दीनानाथ शर्माले बताए।

“प्रधानमन्त्रीले हुन्छ हुन्छ भनेकाले नै हामीले अहिलेसम्म पर्खेका हौं। हामी भोली बेलुकीसम्म हेर्छौं,” शर्माले भने।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेको समयमा मन्त्रीमण्डल हेरफेर गर्नु गत जेठ १४ गते दलहरुबीच भएको पांचबुंदे सहमतिको विपरित हुने बताउंदै आएको छ।

यसै विषयमा नेपाली कांग्रेसका शिर्षस्थ नेताहरुले आज विहान प्रधानमन्त्रीलाई उनकै निवास बालुवाटारमा भेट गरेका थिए।

भेटका अवसरमा नेपाली कांग्रेसका सभापति शुशील कोइरालाले प्रधानमन्त्रीलाई हतारमा राजीनामा नदिन जोड दिएका उनलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

प्रधानमन्त्रीले भने व्यवस्थापिका संसदको बैठकलाई अवरुद्ध पार्ने कार्य रोकी बजेटमाथि दफावार छलफल हुन दिन नेपाली कांग्रेसलाई आग्रह गरेका बताइएको छ।

काठमाण्डूस्थित बीबीसी नेपाली सेवाका एकजना सम्बाददाता भन्छन्-थपीएको संविधानसभाको म्याद अब एक महिना मात्र बांकी रहंदा, संविधान निर्माण तर्फ भन्दा पनि अन्यत्रै प्रमुख दलहरुको राजनीतिक उर्जा खेर गैरहेकोमा व्यापक चिन्ताहरु व्यक्त भैरहेका छन्।