प्रधानमन्त्रीको प्रस्तावप्रति माओवादीकै असहमति

  • 3 अगस्ट 2011
प्रधानमन्त्री खनाल तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्रीले सहमतिको निम्ति तीन चरणको सरकारको प्रस्ताव गरेको बताइएको छ

माओवादीको समर्थनमा टिकेका प्रधानमन्त्री झलनाथ खनालले सहमतीय सरकारको नेतृत्व पालैपालो गर्न पेश गरेको भनिएको प्रस्तावले राजनीतिक समाधान नदिने टिप्पणी सत्ता-सहयात्री माओवादीले नै गरेको छ।

पत्रपत्रिकाहरु मार्फत सार्वजनिक प्रस्तावमा प्रधानमन्त्रीले सहमतिको पहिलो सरकारले मंसीर १४ गतेसम्म नयाँ संविधान जारी गर्ने उल्लेख गरेका छन्।

त्यसपछि बन्ने दुई चरणका सरकार प्रत्येकको अवधि ६ देखि ९ महिना हुने छ।

माओवादी र कांग्रेसले आपसी सहमतिमा जुन सरकारको नेतृत्व रोजे पनि प्रधानमन्त्री तयार देखिन्छन्।

तर राष्ट्रिय सरकारको नेतृत्वमा माओवादीद्वारा प्रस्तावित उपाध्यक्ष बाबुराम भट्टराई निकट नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

प्रस्तावप्रति प्रारम्भिक प्रतिकृया जनाउँदै उनले भने, "काँक्रा चिराचिरा पारेजस्तो गरेर अवधि बाँडेर सहमति हुन्छ? बरु तत्काल राजीनामा दिएर सहमतिको चुक्कुल उघार्नु पर्छ।"

'कैले के, कैले के'

अर्का उपाध्यक्ष मोहन वैद्य किरणको समूह शुरुदेखि खनाल सरकारको बचाउमा थियो।

पार्टीभित्र प्रचण्डको विरोधी गठबन्धनमा भट्टराईसँग हातेमालो गरेको उक्त खेमाका एक नेता सीपी गजुरेलले समेत प्रधानमन्त्रीको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन्।

खनालले अर्को चरणको सरकारको नेतृत्व पनि आफ्नो पार्टीले पाउने आशयको प्रस्ताव गरेका बेला गजुरेलले पूर्वसहमति अनुसार खनाल सरकारको अवधि नै सकिनै लागेको बताउँदै सरकारको प्रतिरक्षा गर्न चाहेनन्।

बरु उनले भने, "झलनाथजी कहिले राजीनामा दिन्छु भन्नुहुन्छ, कहिले चक्रिय प्रणालीको कुरा गर्नु हुन्छ। केके भन्नुहुन्छ केके।"

विपक्षी कांग्रेसले पनि खनालको प्रस्तावलाई भरपर्दो रुपमा लिएको पाइएन।

खनाल र प्रचण्डसँग प्रधानमन्त्री चुनावमा प्रतिस्पर्द्धा गरेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, "प्रधानमन्त्रीका कुरा अलि अस्पष्ट र झालेमाले खालका छन्, उहाँको विश्वास गरेर कति पछि लागिरहनु?"

प्रतिज्ञा

राजनीतिक बेमेलका कारण संविधानसभाको म्याद सकिने बेला फेरी शान्ति प्रकृया र राजनीतिक भविष्यबारेको अन्यौल बढ्दो छ।

तर माओवादी अध्यक्ष प्रचण्डले भवि राजनीतिलाई नियन्त्रण बाहिर जान नदिन कम्मरै कसेको बताएका छन्।

राजाधानीमा आयोजित एउटा कार्यक्रममा उनले भने, "गिरिजाबाबुले परिवर्तन र शान्तिको यो क्रम टुंग्याउने जिम्मा तपाईंले लिनु होला भनेको मलाई हेक्का छ, त्यसको लागि म अगाडि जाँदा आम नेपालीको सहयोग चाहिन्छ, म अगाडि गएँ।"

हाम्रा काठमाण्डूस्थित एकजना संवाददाता भन्छन्, त्यसो भनेका प्रचण्ड पार्टी भित्रैको बलियो गठबन्धनसँग पौँठेजोरी खेलेर तत्कालका लागि उम्किएको भर्खरै हो।

उनी भन्छन्, उनले शान्ति र संविधानको निम्ति कति गर्न सक्छन् र चाहन्छन भन्ने कुराले पनि भावी राजनीतिलाई निर्देश गर्ने ठानिएको छ।