राष्ट्रिय सहमतिको सरकारका लागि एकीकृत माओवादीको बैठकमा छलफल

  • 7 अगस्ट 2011
माओवादी नेताहरु प्रकाश, बाबुराम र प्रचण्ड (बायांबाट क्रमश:)
Image caption बैठकमा कार्य विभाजन र भावी कार्ययोजनाबारे छलफल भएको थियो

संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले, आगामी साउन २८ गते पछि बन्ने राष्ट्रिय सरकारका लागि पहल कदमी लिन छलफल गरेको जनाएको छ।

शान्ति प्रकृयामा प्रगति नदेखिए उक्त दिन राजीनामा दिने भनी प्रधानमन्त्री झलनाथ खनालले गरेका घोषणा नै त्यस विषयमा अघि बढ्न व्यवधान बनेको निष्कर्ष माओवादी स्थायी समितिको सोमबार बसेको बैठले निकालेको पार्टी प्रवक्ता दीनानाथ शर्माले बताए।

शान्ति प्रकृयामा ठोस प्रगति भएको नदेखिए आफुले आउंदो साउन २८ गते राजीनामा दिने घोषणा प्रधानमन्त्रीले गरिसकेको सन्दर्भमा त्यस्तो समयसीमाका लागि पांच दिन बांकी छंदा एकीकृत माओवादी भित्र यस विषयमा देखिएको सकृयतालाई विशेष चासोका साथ हेरिएको छ।

ठहर बैठकले प्रधानमन्त्रीले राजीनामा दिने भनी गरेका घोषणा त्यस सन्दर्भमा उपयुक्त नभएको ठहर समेत गरेको छ।

त्यसै कारण नै शान्ति प्रकृयाको सबैभन्दा महत्वपूर्ण विषय ठानिएको सेना समायोजनको विषयमा आउंदो एकहप्ता भित्र उल्लेखनीय सहमति हासिल गर्ने प्रयासमा गतिरोध देखिएको माओवादी स्थायी समितिले अनुभव गरेको प्रवक्ता शर्माले बताए।

उनले भने, “प्रधानमन्त्रीको राजीनामा नआउला की भनी सेना समायोजनको विषयमा प्रतिपक्षले उदासिनता देखाएको स्थायी समितिले अनुभव गर्यो।“

तर साउन २८ गते भित्रै प्रधानमन्त्री झलनाथ खनालले अपेक्षा गरे अनुरुप शान्ति प्रकृयालाई अघि बढाउने दिशामा माओवादी जांगर कम भएको जस्तो देखिएको छ।

संकेत

गत हप्ता प्रमुख तीन दलहरुबीच विशेषगरी सेना समायोजनको मुद्दाका दुई जटिल मुद्दाहरु समायोजन गरिने संख्या र राहत प्याकेजका सम्बन्धमा महत्वपूर्ण वार्ताहरु भएका थिए।

वार्ताप्रति आशावादी हुंदै प्रधानमन्त्री निकट नेताहरुले साउन २८ भित्रै शान्ति प्रकृयामा प्रग‌ति हुने संकेत मिलेको बताएका पनि थिए।

तर आइतबारको माओवादी बैठकमा भएको छलफलले त्यस्तो संकेत धमिलो बन्दै गएको देखिएको छ।

बरु पार्टी प्रवक्ता दीनानाथ शर्माले केन्द्रीय समितिको निर्णय भन्दै प्रधानमन्त्रीको राजीनामालाई निश्चित जस्तै ठानी पार्टी उपाध्यक्ष बाबुराम भट्टाराईको नेतृत्वमा भावी राष्ट्रिय सहमतिको सरकारप्रति एकीकृत माओवादीले आफ्नो ध्यान र शक्ति केन्द्रीत गर्न लागेको संकेत बलियो बन्दै गएको जनाउ दिए।

“प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रीय सहमतिको सरकार निर्माणका लागि पहलकदमी लिने त्यो स्वाभाविक रुपमा केन्द्रीय कमिटीको निर्णय पनि हो“ उनले भने।

सहमति

तर नयां राष्ट्रिय सरकार निर्माणका लागि संविधानसभाका अन्य दलहरुसंग एकीकृत माओवादीले के कस्तो सम्वाद र सहमतिको कदम चाल्छ भन्ने चाहिं स्पष्ट भएको छैन।

माओवादी पार्टीभित्र केहीसमय अघि चर्को विवादको विषय बन्न पुगेको पद तथा जिम्मेवारी बांडफांड र भावी कार्ययोजनाका बारे बैठकमा छलफल भएको प्रवक्ताले बताए।

तर बैठकले कुनै ठोस निर्णय भने नगरेको उनले बताए।