आय बृद्धीको आधार दिगो नभएको आलोचना

  • 9 अगस्ट 2011
अर्थ मन्त्रालय
Image caption आम्दानी बढेको पछिल्लो आँकडाले सरकार दंग परेको छ

विदेशमा काम गर्ने नेपालीहरुले पठाएको विप्रेषण अर्थात रेमिटेन्सका कारण देशभित्रका नेपालीहरुको औसत आम्दानी पाँच गुणा बढेको देखाएकोले त्यसलाई भरपर्दो प्रगति मान्न नसकिने कतिपय अर्थविदहरुको भनाई छ।

विश्व बैंकको सहयोगमा केन्द्रिय तथ्यांक विभागले गरेको पछिल्लो जीवनस्तर सर्वेक्षणको नतीजाले आम्दानी ह्वात्तै बढेको देखाएको थियो।

पन्ध्र वर्ष अगाडि गरिएको त्यस्तै सर्वेक्षणको परिणामसंग तुलना गर्दा औसत आम्दानी पाँच देखि सात गुणा बढेको देखिएकोले त्यसले आर्थिक प्रगतिको दह्रो संकेत दिएको सरकारी अधिकारीहरुले बताएका छन्।

भयावह

तर त्यसको मूल कारण विप्रेषण अर्थात रेमिटेन्स बताइएकोले यसले दिगो प्रगतिको पटक्कै छनक नदिएको धेरै अर्थविदहरुको भनाई छ।

“कुनै अवस्थामा रेमिटेन्स घट्ने वित्तिकै भयावह स्थिति आउने हुन्छ। रेमिटेन्सले केही समयको लागि त अर्थतन्त्रलाई घिसारेर अघि लैजान्छ तर थोरै प्रतिकुलता हुनासाथ स्थिति भयावह हुन्छ,” अर्थविद डा डिल्लीराज खनालले बताए।

उनले सन् ७० को दशकमा पाकिस्तानले त्यसैगरी रेमिटेन्समा धेरै भर पर्दा केही काल गरीबी निकै घटाउन सकेपनि पछि स्थिति उल्टिएर दुख पाएको उदाहरण दिए।

त्यसमाथि, आएको रेमिटेन्स मध्ये १० भागको ८ भाग खानलाउनमै सकिने गरेकोले त्यसले अर्थतन्त्रका उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसकेको स्वयं सरकारी आँकडाले देखाउँछ।

त्यस्ता लगानीको अभावमा रेमिटेन्सको आम्दानी पानीको फोका सरह हुने धेरै खतरा रहने बताइन्छ।

“रेमिटेन्सको माध्यमबाट गरीबी हट्छ भन्ने मलाई लाग्दैन। त्यसमाथि जनसंख्याको आधाभन्दा बढि हिस्सा रेमिटेन्समा भर पर्नु भनेको दिर्घकालका लागि एकदमै घातक हो,” अर्का अर्थविद डा पोषराज पाण्डेले भने।

‘असमानता घट्यो’

वार्षिक अढाई खर्ब रुपियाँको दरले भित्रिने रेमिटेन्समा देशका ५६ प्रतिशत घरपरिवार आश्रित रहेको पछिल्लो आँकडाले देखाएको छ।

यही आम्दानीका कारण पारिवारिक आयमात्रै नभई गरीब र धनीबीचको असमानता समेत घट्न थालेको सरकारको भनाई छ।

पन्ध्र वर्ष अगाडिको तुलनामा पूरै जनसंख्या मध्ये कमाईको आधारमा तल्लो बीस प्रतिशत र माथिल्लो बीस प्रतिशतको प्रगतिबारे केन्द्रिय तथ्यांक विभागका महानिर्देशक उत्तम नारायण मल्लले केही रमाईला तथ्य बताए।

“तल्लो बीस प्रतिशतको कमाई सात गुणाले बढेको देखिन्छ भने माथिल्लो बीस प्रतिशतको कमाई पाँच गुणाले बढेको देखिन्छ। आयको असमानताको दुरी घटेको देखिन्छ,” मल्लले भने।

तर जति कमाई बढेपनि गएका केही वर्षयता वार्षिक दोहोरो अंक अर्थात १० प्रतिशतको हाराहारीमा बढेको महंगीले मानिसहरुको यथार्थ आम्दानीमा निकै नराम्रो प्रभाव पारेको प्रष्ट छ।