प्रधानमन्त्रीले राजीनामा दिने संसदमा वाचा

  • 10 अगस्ट 2011
प्रधानमन्त्री खनाल तस्वीर कपीराइट BBC World Service
Image caption राजीनामा दिन प्रधानमन्त्री खनालमाथि पार्टीभित्रैबाट ठूलै दबाब छ

प्रधानमन्त्री झलनाथ खनालले मुख्य विपक्षी नेपाली कांग्रेसलाई विश्वासमा लिने प्रयास स्वरुप तीन दिनपछि राजीनामा दिने प्रतिबद्धता व्यवस्थापिका संसद समक्ष जनाएका छन्।

उक्त प्रतिबद्धतापछि कांग्रेसले केहि दिनदेखि रोकिरहेको संसद बैठकको अवरोध हटाएको छ।

कांग्रेसको अवरोधका कारण संसदमा बजेटमाथिको छलफल नै अवरुद्ध थियो।

फेरि प्रतिबद्धता

त्यो अवरोध खुलाउन उपप्रधानमन्त्री भरतमोहन अधिकारीले संसद बैठकमा प्रधानमन्त्रीको लिखित प्रतिवद्धता सुनाउँदै भने, "समायोजन हुने लडाकुको संख्या, मोडालिटी, तह निर्धारण, मापदण्ड र पुनर्स्थापनाको प्याकेज तय गरी कार्यान्वयन गर्न सहमति गर्न नसके साउन २८ गते राजीनामा दिने भनिसकेको छु, त्यो प्रतिवद्धता संसद समक्ष पनि व्यक्त गर्छु।"

आफ्नो परामर्शमा जनाइएको उक्त प्रतिवद्धता कांग्रेसले तत्काल स्वीकार गरेको थियो।

कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले भने, "प्रधानमन्त्रीले संसदमै प्रतिवद्धता जनाएपछि हाम्रो पार्टीले अवरोध हटाउने निर्णय गरेको छ।"

कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दै संसद अवरोध शुरु गरेको थियो।

प्रधानमन्त्रीले साउन २८ गतेको भाखा राखेर शान्ति प्रकृयामा प्रगति गर्न नसके राजीनामा दिने बताएका छन्।

तर प्रगति भइहाल्यो भने पनि उनको राजीनामा आउने कांग्रेस नेता घिमिरेको विश्वास छ।

प्रहार

प्रधानमन्त्रीले राजिनामा दिएमा त्यसले कांग्रेसलाई स्वभाविक खुशी तुल्याउने त छ नै, २९ गते हुने पार्टी केन्द्रिय कमिटी बैठकमा प्रधानमन्त्रीले खेप्नु पर्ने सम्भावित हमला पनि मत्थर हुने ठानिएको छ।

माओवादी मन्त्रीहरुलाई सपथ खुवाएपछि प्रधानमन्त्री खनालले आफ्नै दलभित्रबाट कडा प्रहार व्यहोरिरहेका छन्।

उनलाई काँध थापी रहेको माओवादीका अध्यक्ष प्रचण्डले स्वेदश फर्किने क्रममा सहमतिको राम्रो सम्भावना देखा परेको टिप्पणी गरेका छन्।

राजनीतिक अन्यौलका माझ पूर्व राजा ज्ञानेन्द्रले फेरि मुख खोलेका छन्।

फेरि नच्यतिने गरी दस्तावेज आओस भन्ने आफूहरुको चाहना रहेको उल्लेख गर्दै उनले व्यंग्यात्मक ढंगले भने, "भदौं आउँदैछ, सीमसीम पानी पर्छ भन्छन्, खुर्सानी सुकाउने समय पनि त्यही हो। क-कसलाई कति खार लाग्छ, केके हुन्छ हेर्दै जाउँ।"

बेला बखत आउने पूर्व राजाका अभिव्यक्तिलाई कतिपयले सक्रिय हुने मनसाय रुपमा अर्थ्याउने गरेका छन्।

तर अर्का थरीले राष्ट्रको महत्वपूर्ण जिम्मेवारी सम्हालेको एउटा नागरिकको प्रतिकृयाको रुपमा मात्र हेरिनु पर्ने विचार राख्छन्।