माओवादीले प्रधानमन्त्रीलाई काँध नथाप्ने

  • 12 अगस्ट 2011
तीन दलका शीर्ष नेताहरु तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्रीले शनिवार तीन दलको बैठकमा शान्ति प्रकृया टुंग्याउने प्रस्ताव गर्दैछन्

शान्ति प्रकृयामा शनिवारसम्म ठोस प्रगति नभए राजिनामा दिने तरखरमा रहेका प्रधानमन्त्री झलनाथ खनाललाई सत्ता-सहयात्री एकिकृत नेकपा माओवादीले काँध नथाप्ने जनाएको छ।

माओवादी सचिव सीपी गजुरेलले बताए अनुसार, प्रधानमन्त्रीले राजिनामा दिन खोजे माओवादीले रोक्ने छैन।

माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई राजिनामाको बाटो समात्न बाध्य हुने गरी उनले खोजेको लडाकू समायोजनको खाका बनाउन पनि अस्वीकार गरेको छ।

तटस्थ

प्रधानमन्त्री खनालले राजिनामाको निम्ति तोकेको हदम्याद सकिनु अघिल्लो दिन बसेकाले माओवादी पदाधिकारी बैठकप्रति धेरैको चासो थियो।

तर बैठकले प्रधानमन्त्रीले खोजेको जस्तो शान्ति प्रकृयामा प्रगति हुने कुनै नयाँ कदम उठाएन।

त्यस्तो स्थितिमा राजिनामा दिने प्रधानमन्त्री खनालले घोषणाप्रति बैठकलाई आफूलाई तटस्थ नै राखेको छ।

सचिव सीपि गजुरेलले भने, "राजिनामा दिन खोजे रोक्न पनि रोक्दैनौ, राजिनामा दिन दवाव पनि दिन्नौं।"

'ब्रेक थ्रु'

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई शान्ति प्रकृया टुंग्याउन निर्णायक कदम चाल्ने आश्वासन दिएको बताइएको थियो।

उपाध्यक्ष बाबुराम भट्टराईले पनि उनको समर्थन गर्दै ब्रेक थ्रु हुने गरी प्रस्ताव तयार गर्ने भनेका थिए।

सचिव गजुरेलले बैठकमा अध्यक्षले त्यस्तो कुनै प्रस्ताव नल्याएको बताउँदै भने, "ब्रेक थ्रु, आइश ब्रेक, चमत्कार जस्ता शब्दहरु त राजनीतिमा चलिरहन्छन्।"

प्रधानमन्त्री शान्ति प्रकृयामा प्रगति नभए माओवादीलाई बाधक देखाउँदै राजिनामा दिने मनस्थितिमा छन्।

बहुमतिय

तर माओवादीले आफूले बनाएको सरकार छँदै राष्ट्रिय सरकारको नेतृत्वका लागि उपाध्यक्ष भट्टराईलाई सिंगारिसकेको छ।

तर सचिव गजुरेल भन्छन्, "सहमति भए त ठीकै छ, तर बाध्य भएर बहुमतीयमा जानु परे पनि बाबुराम भट्टराई नै हाम्रो पार्टीको उम्मेदवार हुनु हुनेछ।"

साउन २८ अर्थात शनिवारसम्म शान्ति प्रकृयामा ठोस प्रगति हुने गरी सहमति नजुटे राजिनामा दिने प्रतिवद्धता प्रधानमन्त्रीले संसदमा समेत व्यक्त गरिसकेका छन्।