प्रधानमन्त्रीद्वारा तत्काल राजीनामा नदिने संकेत

  • 13 अगस्ट 2011
तीन दलिय वैठक तस्वीर कपीराइट BBC Nepali Service
Image caption शनिबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएपछि अन्यौल बढेको हो

शान्ति प्रक्रिया अघि नबढे शनिबार राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री झलनाथ खनालले तत्कालै राजीनामा नदिने संकेत दिएका छन्।

शनिबार साँझ उनलाई सत्ता साझेदार दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण नबनेसम्म राजीनामा नदिन सुझाव दिएका थिए।

प्रधानमन्त्रीले राजीनामा दिने संकेत नदेखिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस क्रुद्ध बनेको छ।

शान्ति प्रक्रिया अघि नबढे साउन २८ गते राजीनामा दिने बताएका प्रधानमन्त्रीको राजीनामा आउला कि नआउला भनेर शनिबार दिनभरि नै चर्चा, परिचर्चा चलेको थियो।

तर साँझ अबेरसम्म पनि प्रधानमन्त्रीले चाहे झैं न त शान्ति प्रक्रियाका बाँकी काम सकिने आधार तयार भएको कुनै खबर मिल्यो, न त प्रधानमन्त्रीको राजीनामा आउने कुनै संकेत नै।

‘सुझाव’

बरु सत्ता साझेदार दलहरुको बैठकले यथास्थितिमा प्रधानमन्त्रीले राजीनामा दिन नहुने सुझाव खनाललाई दियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “उहाँहरुले स्थीर र बलियो सहमतिको सरकार बन्ने स्थिति नबनेसम्म राजीनामा दिन नहुने सुझाव दिनुभयो।”

तर थापाले प्रधानमन्त्री आफुले गरेको घोषणा पुरा गर्न प्रतिबद्ध रहेको पनि बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा शनिबार साँझ अबेर जारी एउटा विज्ञप्तीमा आफ्ना सबै कुरा प्रधानमन्त्रीले सर्वोच्च जनप्रतिनिधि संस्था व्यवस्थापिका संसदको आगामी वैठक मार्फत मुलुक सामु राख्ने बताइएको छ।

केही दिन अघि बिरामी परेका प्रधानमन्त्रीकातर्फबाट उपप्रधानमन्त्री भरतमोहन अधिकारीले प्रधानमन्त्रीको संबोधन संसदमा पढेर सुनाएका थिए।

त्यसमा साउन २८ गतेसम्म पनि शान्ति प्रकृयाका मूलभूत कुराहरुमा कुनै प्रगति नभए आफुले राजीनामा दिने उनले बताएका थिए।

सो संबोधन पछि खनालको राजीनामाको माग गरिरहेको प्रमु्ख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अबरुद्ध पार्ने श्रृङ्खलालाई रोकेर संसद चल्न दिएको थियो।

आक्रोश

तर पूर्व घोषणा अनुसार शनिबार प्रधानमन्त्रीले कुर्सी छोड्ने संकेत नदिएपछि प्रमुख विपक्षी नेपाली कांग्रेस आक्रोशित बनेको छ।

कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले शनिबार मध्यरातीसम्म प्रधामन्त्रीले राजीनामा नदिए उनले सबैलाई ढाँटेको ठहरिने प्रतिक्रिया दिए।

उनले भने, “उहाँले सबैलाई ढाँट्नु भएको छ, उहाँले केही पनि गर्न सक्नु भएको छैन, उहाँलाई नेपाली कांग्रेसले अब कसरी विश्वास गर्ने?”

अन्यौल

संविधानसभाको म्याद तीन महिना बढाउँदा जेठ २८ गते मध्यराती प्रमुख दलहरुबीच भएको पाँच बुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्रीले राजीनामा दिने उल्लेख गरिएको थियो।

सोही सहमतिमा भदौ १४ गते सम्म अर्थात अबको १८ दिन भित्र संविधानको प्रारंम्भिक मस्यौदा तयार पार्ने र शान्ति प्रक्रियाका आधारभूत काम सिध्याउने राजनीतिक प्रतिबद्धता आएको थियो।

तर राष्ट्रिय सहमति निर्माणमा महत्वपूर्ण सहमति बनाउने अपेक्षा गरिएको तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएपछि राजनीतिक अन्यौल जारी नै छ।