खनालद्वारा माओवादी र कांग्रेसप्रति असन्तुष्टि व्यक्त

  • 15 अगस्ट 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption कामचलाउ प्रधानमन्त्री खनालले राष्ट्रिय सहमति निर्माणका लागि आग्रह गरे

प्रधानमन्त्री झलनाथ खनालले सत्ता सहयात्री माओवादीले शान्ति प्रक्रिया पूर्ण गराउन पहल नलिएको र विपक्षी नेपाली कांग्रेसले सत्तालाई प्राथमिकता दिएकोले आफ्नो सरकारको अठोट पूरा हुन नसकेको जनाएका छन्।

आईतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका खनालले त्यसो गर्नुको कारण खुलाउनको लागि सोमबार संसदलाई सम्बोधन गरेका थिए।

निशाना

माघ २० गते प्रधानमन्त्री नियुक्त भएदेखिनै आफै अध्यक्ष रहेको पार्टी एमालेभित्रकै एउटा प्रभावशाली खेमाले लगातार उनीमाथि सार्वजनिक रुपमै दिएको दबाबबारे भने खनालले कुनै उल्लेख गरेनन्।

बरु उनको तीरको प्रमुख निशाना सत्ता सहयात्री एकीकृत नेकपा माओवादी बन्यो।

माओवादीलाई राजनीतिक रुपमा एक्ल्याइएको हुनाले आफुले उसंग गठबन्धन निर्माण गरेको बताएका प्रधानमन्त्रीले माओवादी स्वयंले गुनको बदला बैगुन गरेको स्पष्ट संकेत गरे।

“सात बुँदे सहमति, गृह मन्त्रालयको नेतृत्व माओवादीलाई दिने निर्णय तथा माओवादीले परिवर्तन गरेको मन्त्रीहरुको शपथ गराउने काम माओवादीको आन्तरिक एकतालाई सहयोग पुर्‍याउन र त्यसबाट शान्ति प्रक्रियाका लागि सहज वातावरण बनाउने उद्देश्यले गरिएको हो। तर मेरा प्रयत्न र अपेक्षा अनुरुप माओवादीले पहलकदमी लिन सकेन,” उनले भने।

वकालत

राष्ट्रिय सहमतिको प्रखर वकालत गर्दै आएका खनालले आफ्नो सरकारको बहिर्गमनलाई उक्त नीतिको विफलतासंग जोड्न नहुने बताए।

“मेरा प्रयत्नले अपेक्षित सफलता पाउन नसकेको घटनालाई राष्ट्रिय सहमतिको नारा असफल भएको निश्कर्षमा पुग्नु दुर्भाग्यपूर्ण हुनेछ। यसले त उक्त सहमतिको आवश्यकता अझै अपरिहार्य भएको देखाउँछ।”

उक्त अपरिहार्य भनिएको राष्ट्रिय सहमतिको बाटोमा दुई प्रमुख तगारोको रुपमा उनले माओवादी र कांग्रेसको नीतिलाई उल्लेख गरे।

“शान्ति प्रक्रियालाई अगाडि बढाउन माओवादी व्यवहारिक बन्न सकेन र आफ्नो नेतृत्वको सरकारविना राष्ट्रिय सहमति हुनै सक्दैन भन्ने अडान नेपाली कांग्रेसले छाड्न सकेन भने राष्ट्रिय सहमति सम्भव देख्दिनं,” खनालले बताए।

दलहरु वर्तमान अडानमा रहेसम्म उनले सम्भव नदेखेको राष्ट्रिय सहमतिकै आधारमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रामवरण यादवले दलहरुलाई भदौ ४ सम्मको समय दिएका छन्।