तराइ केन्द्रित दलको मन जित्ने माओवादी प्रयत्न

  • 17 अगस्ट 2011
प्रचण्ड
Image caption प्रचण्डले जातीय र क्षेत्रीय विषयमा मोर्चासँग सहमत रहेको आश्वासन दिएका थिए

प्रधानमन्त्रीको प्रत्यासी रहेको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीले तराइ केन्द्रित दलहरुले उठाउँदै आएका संघीयता, जातीयता, क्षेत्रीयता लगायतका मुद्दामा आफुहरु एकठाउँ रहेको बताएको छ।

राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयत्न स्वरुप संविधानसभामा चौथो ठूलो शक्तिका रुपमा रहेको तराइवादी मोर्चाको मन जित्ने प्रयत्न शुरु गरेको छ।

मोर्चासँग भएको डेढ घन्टा लामो छलफलमा प्रधानमन्त्रीका प्रत्यासी बाबुराम भट्टराई केहीबेर मात्र बोलेका थिए।

अधिकांश समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराइवादी मोर्चाको मन जित्ने प्रयत्न गरेका थिए।

अंतरंग

वार्तामा उपस्थित मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले माओवादीसँग सौहार्दपूर्ण र अंतरंग कुराकानी भएको बताए।

जीतेन्द्र देवका अनुसार संघियता र क्षेत्रीयता लगायतका विषयमा पनि माओवादी तराइ केन्द्रित दलसँग एकठाउँ रहेको प्रचण्डको भनाइ थियो।

प्रचण्डलाई उल्लेख गर्दै जीतेन्द्र देवले भने, “माओवादी आत्मनिर्णय र स्वायत्ततामा आधारित संघीय प्रणाली चाहन्छ। हामीले तपाइका धेरै माग बोकेका छौं। तपाइ र हाम्रा बीचमा खासगरेर जातीय र क्षेत्रीय सवालमा अत्यन्त एकमत छ।”

तैपनि शान्ति प्रक्रियाबारे भने मोर्चा माओवादीसँग आश्वस्त भइसकेको छैन।

रोडम्याप

जीतेन्द्र देवले भने, “पटक पटक बडो राम्रा भाषामा मीठा कुरा आउँछन्, तर कार्यान्वयन गरिन्न। हामी यसपटक शान्ति प्रक्रियाबारे लिखित रोडम्याप माग्छौं।”

माओवादी प्रवक्ता दिनानाथ शर्माले सहमतीय सरकार बनाउन दिइएको म्याद भदौ चार गते सकिनु अघि मोर्चासँग पटक पटक छलफल गरिने बताए।

प्रधानमन्त्रीको अर्को दावेदार नेपाली कांग्रेससँग बिहीबार हुने छलफलमा मोर्चाले संघीयता लगायतका आफ्नो चासोका विषयमा लिखित प्रतिबद्धता खोज्ने मोर्चाले जनाएको छ।

दुवै पक्षबाट यसबेला लिइने लिखित प्रतिबद्धताका आधारमा, उसकै शब्दमा, कथंकदाचित सहमतिको सरकार बनेन भने बहुमतीय सरकारमा कसको समर्थमा जाने भन्ने निर्णय गर्ने मोर्चाले जनाएको छ।