राष्ट्रिय सहमतिको सरकार गठन गर्ने माओवादीको प्रस्ताव

  • 25 अगस्ट 2011
संसद
Image caption संसदमा आइतबार प्रधानमन्त्री चयनको लागि निर्वाचन हुने कार्यक्रम तय भएको छ

राष्ट्रपतिले बहुमतिय सरकार गठन गर्न दलहरुलाई आव्हान गरेको एक दिन पछि माओवादीले शान्ति, संविधान र सरकारबारेको आफ्नो प्रस्ताव सार्वजनिक गरेको छ।

उसले लगभग आठ हजार लडाकूहरुको समायोजन डेढ महिनामा गर्ने र संविधानसभाको म्याद छ महिना थप्ने प्रस्ताव गरेको छ।

बहुमतिय सरकार गठन गर्न संसदमा आइतबार हुने प्रधानमन्त्रीको चुनावको लागि दौड शुरु भएकै बेला बिहीबार माओवादी स्थायी समितिको बैठकले शान्ति प्रक्रिया, संविधान र सरकारबारेको उसको प्रस्तावलाई अन्तिम रुप दिएको थियो।

माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व पहिले आफ्नो दलले लिने गरी अझै पनि राष्ट्रिय सहमतिको सरकार निर्माणको संभावना रहेको पत्रकारहरुलाई बताए।

‘सहमति’

उनले भने, “बहुमतियको प्रक्रियामा हामी प्रवेश गरेको भएपनि बहुमतिय भित्रै सहमतिको सरकार बन्छ भन्ने हामीलाई विश्वास छ।”

माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन भए लगत्तै लडाकू, हातहतियार र कन्टेनर विशेष समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ।

प्रधानमन्त्रीको चुनावमा माओवादी उम्मेदवारलाई सघाउने अनुमान गरिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेता हृदयेश त्रिपाठीले माओवादीको ताजा प्रस्तावबारे मोर्चाले छिट्टै छलफल गर्ने बताए।

“तुलनात्मक रुपमा सकारात्मक प्रस्ताव आएको छ, तर कतिपय कुराहरु ‘बार्गेनिङ’को लागि आएको जस्तो छ।”

बहुमतिय सरकारको नेतृत्व गर्न सबभन्दा ठूलो दल माओवादीले बाबुराम भट्टराईलाई अघि सारेको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई उभ्याएको छ।

शान्ति प्रक्रिया

कुनै पनि उम्मेदवार अघि नसारेको तेस्रो ठूलो दल नेकपा एमालेले सहमतिको निम्ति माओवादीबाट शान्ति प्रक्रिया टुङ्ग्याउने ठोस प्रतिबद्धता आउनु् पर्ने माग दोहोर्‍याइरहेको थियो।

माओवादीले चाहिं लगभग आठ हजार लडाकुहरुको समायोजनको निम्ति नेपाली सेना अन्तरगत महानिर्देशनालयको प्रारुप बनाउने प्रस्ताव गरेको छ।

प्रमुख कमाण्डरहरुलाई राज्यद्वारा सम्मान दिनु पर्ने, उनीहरुलाई राजनैतिक काममा लगाइने र बाँकी कमाण्डरहरुको दर्जा मिलान विशेषज्ञहरुको टोलीले निर्धारण गर्ने माओवादीको प्रस्ताव छ।

उसले भदौ १४ भित्रै समायोजन र पुन:स्थापना जाने लडाकूहरुको वर्गीकरण थालेर डेढ महिना भित्र बिदाई कार्यक्रम गर्ने प्रस्ताव गरेको छ।

संविधान

संविधान निर्माणका विषयमा सहमति कायम गरि डेढ महिना भित्र संविधानको पहिलो मस्यौदा तयार गर्ने प्रस्ताव माओवादीको छ।

उसले वाईसीएलको विघटन र कब्जा घरजग्गा फिर्ता गर्ने विषयमा पुराना सहमति र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍‍याएको छ।

प्रधानमन्त्रीको चुनावको तीन दिन अघि आएको माओवादीको प्रस्तावमाथि विभिन्न दलहरुभित्र छलफल हुने र प्रतिक्रिया आउने क्रम जारी छ।